बुद्ध
पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति / From Wikipedia, the free encyclopedia
बुध्द शब्दको उत्पत्ति पाली भाषाको 'बोध' शब्दबाट भएको हो । पाली भाषाको 'बोध' को अर्थ जानकारी हुनु हो । ज्ञान प्राप्त भएको अबस्थालाई 'बोध' भनिन्छ । ज्ञान प्राप्त भएको वा जागृत भएको तथा निर्वाण प्राप्त ब्यक्तिलाई पाली भाषामा 'बोधी'भनिन्छ । त्यही पाली भाषाको 'बोधी' शब्दबाट संस्कृत भाषामा'बुध्द' भनियो। बुध्द धर्ममा पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुध्द हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन। बुध्द धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुध्द धर्म नभएको वा सुषुप्त अवस्थामा वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुध्द भनिन्छ । वर्तमानमा साधारण रूपले "बुध्द" शब्दले सिध्दार्थ गौतमलाई चिनिन्छ। बुध्द गाथाहरुमा अन्य बुध्दहरु अस्तित्वमा रहेको भएपनि ऐतिहासिक र पूरातात्त्विक रूपमा अस्तित्त्व पुष्टि भएका बुध्द यिनी मात्रै छन्। बुध्द शब्द पाली भाषाको 'बोध' बाट 'बोधी हुँदै संस्कृतको शब्द बुध् हुन आएको हो जसको अर्थ "जागृत भएको" हो।
बुध्दको शिक्षालाई धर्म (पालिभाषामा धम्म) भनिन्छ। बुध्दको धर्म अनुसार सबै किसिमका दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउँछन्। निर्वाण यी बन्धनहरूबाट मुक्त भएपछि प्राप्ति हुन्छ।
बुध्द परमेश्वर हुन भन्ने र बुध्द धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुध्द धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुध्द धर्ममा ईश्वरको परिकल्पना अर्थात् अस्तित्व स्विकार गरिएको छैन। बुध्द धर्ममा बुध्दलाई एक मार्गप्रदर्शक वा गुरुको रूपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुध्दको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुध्द धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।
त्रिपिटक अनुसार बुध्द भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन्।
साधारण रूपमा सिदार्थ गौतमलाई मात्र बुध्दको रूपमा लिएतापनि त्रिपिटकको बुध्दवंशमा २८ बुध्दको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुध्दको बारेमा पनि उल्लेख गरिएको छ।
बुध्द धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन्। थेरवाद शाखाको बुध्द धर्म अनुसार निर्वाण प्राप्त गर्न बुध्द नै भैसकेको हुनुपर्दैन। बुध्दको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। त्यही निर्वाण प्राप्त ब्यक्ति बुध्द बन्दछ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरूलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीक सूत्र अनुसार सबै प्राणीले भविष्यमा आफ्नो साधनाद्वारा कुनै समयमा बुध्दत्व प्राप्त गर्नेछन्।