विभिन्न सञ्चालन प्रणालीमा उपलब्ध सन्देश प्रवाह अनुप्रयोग From Wikipedia, the free encyclopedia
राकुतेन भाइबर, सामान्य रूपमा भाइबर, (रोमन: Viber) आइओएस, एन्ड्रोइड, माइक्रोसफ्ट विन्डोज, म्याकओएस र लाइनक्समा फ्रिवेयरको रूपमा राकुतेनद्वारा उपलब्ध गराइएको तत्काल सन्देश प्रवाह अनुप्रयोग हो। यसमा प्रयोगकर्ताको दर्ता र पहिचान फोन सञ्जालबाट हुने भएता पनि डेस्कटप प्रयोगकर्ताहरू मोबाइलको प्रयोग नगरी पनि दर्ता हुन सक्छन्।[2] यसका साथै भाइबरमा स्टिकर, तस्वीर तथा भिडियो पठाउन र भाइबर आउटको प्रयोग गरी निश्चित शुल्क सहित अन्तर्राष्ट्रिय सम्पर्क गर्न मिल्छ।[3] सन् २०१८ को तथ्याङ्क अनुसार भाइबरमा १० करोड भन्दा बढी प्रयोगकर्ताहरूको दर्ता भएका थिए।[4][5]
मूल सम्पादक(हरू) |
|
---|---|
निर्माणकर्ता (हरू) | राकुतेन |
मौलिक संस्करण | डिसेम्बर २, २०१० |
प्रोग्रामिङ भाषा | |
सञ्चालन प्रणाली | बहुप्रणाली |
प्रकार |
|
अनुमति पत्र | स्वामित्व |
अलेक्सा क्रम | १,५४६ (अगस्त २०२०)[1] |
वेबसाइट | viber |
इजरायलमा आधारित भाइबर मिडियाले निर्माण गरेको यस अनुप्रयोगलाई सन् २०१४ मा राकुतेनले अधिग्रहण गरेको थियो। सन् २०१७ देखि राकुतेन भाइबरलाई यसको औपचारिक नाम मानिन थालिएको थियो। यसको प्रमुख कार्यालय लक्जेम्बर्गमा अवस्थित छ।[6] यसका अन्य कार्यालयहरू आम्स्टर्डम, बार्सिलोना, ब्रेस्ट, किभ, लन्डन, मनिला, मिन्स्क, मस्को, पेरिस, सान फ्रान्सिस्को, सिङ्गापुर, सोफिया, तेल अभिभ र टोकियोमा अवस्थित छन्।[7][8]
इजरायल रक्षा बलमा प्रमुख सूचना अधिकारी हुँदा देखिका साथी रहेका तामलन मार्को र इगोर मागजिन्निकले सन् २०१० मा इजरायलको तेल अभिभमा भाइबर मिडियाको स्थापना गरेका थिए।[9][10] मार्को र म्यगजिन्निक आइमेशका सहसंस्थापक पनि थिए ।[11] इजरायलबाट सञ्चालित यस कम्पनीको श्रम लागत घटाउन बेलारुसमा विकास र साइप्रसमा दर्ता गरिएको थियो।[10] छिटै सानी मरोली र ओफर स्मोचा पनि कम्पनीको भाग भए ।[12][13][14][15][16][17] मार्कोले भाइबरमा स्काइपमा जस्तो दर्ता गर्दा पासवर्ड नचाहिने हुनाले अन्य प्रयोगकर्ताहरूसँग सजिलै रूपमा सम्पर्क गर्न सकिने र स्वचालित डाटा समीकरण हुने बताएका थिए।[18]
सार्वजनिक रूपमा उपलब्ध भएको २ वर्ष पछि सन् २०१३ मा भाइबर आउट र भाइबर स्टिकर बजारको उपलब्धि पछि भाइबरले राजस्व कमाउन थालेको थियो। त्यो भन्दा पहिले, मार्कोले भने अनुसार, उनका साथी र परिवारले यसमा करिब $२ करोड लगानी गरेका थिए।[19] मे २०१३ मा भाइबरमा १२० कर्मचारीहरू कार्यरत थिए।[20]
जुलाई २४, २०१३ मा भाइबरको समर्थन प्रणाली (अरबी: الجيش السوري الإلكتروني) (उच्चारण=अलजिश अलसुरी अलइलुक्त्रुनी)(अनुवादित शीर्षक:सिरियाली विद्युतीय सेना)द्वारा विकृत गरिएको थियो तर प्रयोगकर्ताका गोपनीय सूचना र जानकारीहरू भने सुरक्षित नै रहेको खुलासा गरिएको थियो।[21]
फेब्रुअरी १३, २०१४ मा राकुतेनले भाइबर मिडियालाई $९० करोडमा अधिग्रहण गरेको घोषणा गरेको थियो।[22][23] भाइबरमा ५५.२% भाग धितो राखेका शाब्ताई परिवारले यस अधिग्रहणबाट $५० करोडको नाफा कमाए ।[24][25] यो मूल्यमा भाइबरका संस्थापकहरूले आफ्नो लगानी भन्दा करिब ३० गुना बढी सम्पत्ति फिर्ता पाएका थिए।[13]
सन् २०१५ मा सहसंस्थापक मार्कोले कम्पनी छोडेपछि फेब्रुअरी २०१७ मा जामेल आगेवाले उनलाई भाइबर मिडियाको प्रमुख कार्यकारी अधिकृतको पदबाट प्रतिस्थापित गरेका थिए।[26]
जुलाई २०१७ मा भाइबर मिडियाको औपचारिक नाम राकुतेन भाइबरमा परिवर्तन गरी नयाँ शाब्दिक रूपमा प्रतीकको परिचय गराइएको थियो।[27] लक्जेम्बर्गमा भने भाइबर मिडियालाई नै यसको औपचारिक नाम मानिन्छ।
सन् २०१७ मा राकुटेनले एफसी बार्सिलोनासँग साझेदारी गरे देखि भाइबर उक्त फुटबल क्लबको आधिकारिक सञ्चार मध्यम बनेको थियो।[28][29]
डिसेम्बर २०१६ मा भाइबरमा ८० करोड प्रयोगकर्ताहरू दर्ता भएका थिए।[30] स्टटिस्टा अनुसार जनवरी २०१९ मा २६ करोड मासिक सक्रिय प्रयोगकर्ता छन्।[31] भाइबर मेसेन्जर मुख्यतः पूर्व युरोप, रुस, मध्य पूर्व र एसियामा बढी प्रयोग गरिन्छ।[32]
डिसेम्बर २०१४ को तथ्याङ्क अनुसार ३ करोड भन्दा बढी प्रयोगकर्ता दर्ता भएको भारत भाइबरको सबै भन्दा महत्त्वपूर्ण र ठूलो बजार थियो। त्यही समयमा संयुक्त राज्य अमेरिकामा ३ करोड प्रयोगकर्ता, रुसमा झन्डै ३ करोड प्रयोगकर्ता र ब्राजिलमा झन्डै २ करोड प्रयोगकर्ताहरूको दर्ता गरिएको थियो।[33] सन् २०१६ को तथ्याङ्क अनुसार बेलारुस, मोल्दोभा र युक्रेनमा सबै भन्दा बढी डाउनलोड गरिएको अनुप्रयोगको रूपमा भाइबर पूर्वी युरोपमा पनि प्रसिद्ध छ। यो अनुप्रयोग इराक, लिबिया र नेपालमा पनि प्रख्यात छ।[34] सन् २०१८ मा भाइबर मध्य र पूर्वी युरोपमा खरिद भएका ७०% फोनमा डाउनलोड (अभिभारण) गरिएको थियो भने उत्तर अमेरिकामा खरिद भएका केवल १५% फोनमा डाउनलोड (अभिभारण) गरिएको थियो।[35]
डिसेम्बर २, २०१० मा स्काइपको प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा भाइबरलाई आइफोनको लागि सार्वजनिक गरिएको थियो। जुलाई १९, २०१२ मा यसलाई एन्ड्रोइडमा उपलब्ध गराइएको थियो। मे ८, २०१२ मा ब्ल्याकबेरी र विन्डोज फोनमा पनि भाइबर उपलब्ध भएको थियो।[36] जुलाई २४, २०१२ मा ९ करोड प्रयोगकर्ताहरू दर्ता भएको बेला भाइबरलाई नोकियाको सिरिज ४०, सिम्बियन र सामसङको बडा प्रणालीमा पनि उपलब्ध गराइएको थियो।[37][38]
मे २०१३ मा भाइबर ३.० को साथमा विन्डोज र म्याकओएसका लागि पनि भाइबर सार्वजनिक भएको थियो।[39] अगस्ट २०१३ मा लाइनक्सको लागि भाइबरको सार्वजनिक बेटा निकालिएको थियो र अगस्ट २०१४ मा तयारी संस्करण उपलब्ध गराइएको थियो।[40][41] जुन २०१६ मा विन्डोज १० को लागि भाइबरको डेस्कटप अनुप्रयोग माइक्रोसफ्ट स्टोरमा सार्वजनिक गरिएको थियो।[42] डेस्कटप अनुप्रयोग चलाउन फोन नम्बरको प्रयोग गर्नुपर्ने भए पनि पछि भने स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्ने सुविधा यसमा थप गरिएको थियो।[43] सन् २०१५ मा आइप्याड र एप्पल वाचमा चल्ने भाइबर निकालिएको थियो।[44][45]
भाइबरलाई सुरुमा इन्टरनेट सौजन्य विधिमा आवाज स्थानान्तरण सेवामा काम गर्ने अनुप्रयोगको रूपमा सार्वजनिक गराइएको थियो। मार्च ३१, २०११ मा तत्काल सन्देश प्रवाह प्रणाली जोडिएको भाइबर २.० उपलब्ध भएको थियो।[46] जुलाई २०१२ मा दुबै एन्ड्रोइड र आइओएस संस्करणमा सामूहिक सन्देश प्रवाह र वाइडब्यान्ड अडियो थपिएको थियो।[47]
डिसेम्बर २०१२ मा भाइबरमा स्टिकर राख्ने सुविधा थपिएको थियो। अक्टोबर २०१३ मा भाइबरले शुल्क तिर्नुपर्ने स्टिकर बजारको घोषणा गरेको थियो।[48] भाइबर ४.० को साथमा शुल्क तिरेर भाइबरमा दर्ता नभएका प्रयोगकर्ताहरूले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्ना प्रियजनलाई सम्पर्क गर्न सकिने भाइबर आउट निकालिएको थियो।[49] हैयान चक्रवातमा परेका व्यक्तिहरूलाई आफ्ना प्रियजनसँग सम्पर्क गराउन फिलिपिन्समा भाइबर आउट केही समयको लागि नि:शुल्क भएको थियो।[50]
अप्रिल २, २०१३ मा विन्डोज फोन ८ मा आधिकारिक रूपमा आवाज समर्थन थपिएको थियो।[51] सेप्टेम्बर २०१५ मा भाइबर ५.० को साथमा भिडियो कलको सुविधा प्रदान गरिएको थियो।[52]
नोभेम्बर २०१६ मा भाइबर ६.५ को साथमा व्यापार र व्यवसायको प्रचार प्रसार गर्ने उद्देश्यले सार्वजनिक खाताको सुविधा थपिएको थियो। यसका लागि द हफिङटन पोस्ट, यान्दिक्स र द वेदर च्यानलसँग साझेदारी गरिएको थियो।[30][53] यो अनुप्रयोगले ग्राहक सम्बन्ध प्रबन्धन र च्याटबटको प्रयोग गरी व्यापार व्यवसायको प्रचार गर्दछ।[30] फेब्रुअरी २०१८ मा सामूहिक सन्देश प्रवाह प्रणालीमा थप सुविधा हाली भाइबर समुदायको परिचय दिइएको थियो।[54]
फेब्रुअरी २०१९ मा भाइबर १० सँगै सामूहिक कलको सुविधा थपिएको थियो।[55]
नोभेम्बर ४, २०१४ मा इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनले भाइबरले "सुरक्षित सन्देश प्रप्ताङ्क" वर्गमा ७ मा १ दिएको थियो। भाइबरले परागमनमा गुप्तलेखनको लागि अङ्क पाए पनि अन्त देखि अन्त गुप्तलेखन नभएको हुनाले अङ्क गुमाएको थियो, कोड खुला स्रोत नभएको हुनाले प्रयोगकर्ताले सम्पर्क भएका व्यक्तिको पहिचान राम्ररी थाहा नपाउने र पुराना सन्देशहरू सुरक्षित नहुने समस्या देखा परेको थियो। भाइबरको सुरक्षा योजनाको दस्तावेज नराखेको र स्वतन्त्र सूचना सुरक्षा लेखा परीक्षा नभएको खुलासा भएको थियो।[56][57]
अप्रिल १९, २०१६ मा भाइबर ६० मा राकुतेनले आफ्नो सेवामा अन्त देखि अन्त गुप्तलेखनको सुविधा त थप्यो तर यो केवल नयाँ संस्करण चलाउने प्रयोगकर्ताका लागि पनि उपलब्ध थियो।[58][59][60] कम्पनीद्वारा गुप्तलेखन परीक्षाको आन्तरिक लेखा परीक्षण भई छिटै बाह्य लेखा परीक्षण गरिने खुलासा गरिएको थियो।[61] मे २०१६ मा भाइबरले सिग्नल प्रोटोकलमा प्रयोग हुने अवधारणा प्रयोग गरी सन्देश र सूचना सुरक्षित राखेको प्रमाणित गर्ने अभिलेख सार्वजनिक गरेको थियो।[62]
सन् २०१७ मा, रकुतेन भाइबरले फ्रान्सेली फुटबल क्लब ओलाँपिक द मार्सेयसँग चार वर्षको सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताले समर्थकहरूलाई विशेष अन्तर्वार्ता हेर्न, क्लब नतिजा र घटनाहरूको अनुसरण गर्न र श्रव्य वार्तामा भाग लिन अनुमति दिएको थियो। [63] भाइबरको मालिक राकुतेन समूहले बार्सिलोना र अमेरिकी एनबिएको बास्केटबल टोली गोल्डेन स्टेट वारियर्स लगायतका अन्तर्राष्ट्रिय स्तरका खेलकुद टोलीसँग तेस्रो सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो।[64]।
सन् २०१९ मा, राकुतेन भाइबरले फ्रान्सेली फुटबलको नियामक निकाय लिग द फुतबोल फ्रोफेस्जोनेल (फ्रान्सेली: Ligue de Football Professionnel), (अनुवादित शीर्षक:व्यावसायिक फुटबल लिग) सँग आफ्नो प्रयोगकर्ताको सञ्जाल विस्तार गर्नका लागि सम्झौता गरेको थियो। [65]।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.