From Wikipedia, the free encyclopedia
रुखकटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो। यो नेपाल बाहेक भारत, म्यानमार, श्रीलङ्का, दक्षिणी चीन, केन्या, युगान्डा, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, वेस्ट इन्डिज आदि देशहरूमा खेती गर्ने गरिन्छ।[7][8][9] रुखकटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ जसमा कटहर, रुखकटहर, काँडेफल आदि समावेश छन्। संसारका फलहरू मध्ये सबैभन्दा ठुलो फल कटहरको हो।[10] यो फल विशेष गरि तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ। यसको गुदी कोया सुगर र भिटामिनहरूको मूख्य स्रोत हो। यसको बीउमा प्रोटिन, कार्बोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ। यसको फलमा भिटामिन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ।[11] यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेकोले पनि उपयोगिता बढेको छ। यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न सङ्कटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध भएको छ। यस्को उत्पत्ति भारतको पश्चिमी भेगको वर्षे वनमा भएको मानिन्छ। त्यसपछि भारतको अरु भागमा, दक्षिणी एसिया, फिलिपिन्स, मध्य र पूर्वी अफ्रिकामा फैलिदै ब्राजिल र सुरिनाममा प्रसिद्ध भएको छ।[12]
रुखकटहर | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
प्राकृतिक समूह: | रोसाइड्स |
गण: | रोसालेस |
परिवार: | मोरासी |
वंश: | आर्टोकार्पस लामार्क[1][2] |
प्रजाति: | A. heterophyllus |
वैज्ञानिक नाम | |
Artocarpus heterophyllus लामार्क[1][2] | |
पर्याय[3][4][5][6] | |
|
रुखकटहर सामान्यतया दक्षिण तथा दक्षिणपूर्वी एसियाली परिकारहरूमा प्रयोग गरिन्छ। रुखकटहरलाई पाकाएर र यसको काँचो फललाई तरकारीको रूपमा प्रयोग गरिन्छ। रुखकटहर बङ्गलादेश र श्रीलङ्काको राष्ट्रिय फल हो भने यो भारतको केरल र तमिलनाडुको राज्य फल हो। रुखकटहरको उत्पादन ग्रीष्म ऋतुमा हुने गर्दछ भने पाकेपछि कटहरको भित्री गुदीको रङ्ग पहेँलो हुन जान्छ। रुखकटहरलाई आधिकारिक रूपमा बङ्गलादेशको राष्ट्रिय फलको रूपमा निर्धारण गरिएको छ भने यसलाई बङ्गाली समाजमा रुखको भाँडो पनि भनिन्छ। रुखकटहरको काठ मुख्यरूपमा काठका सामग्रीहरू बनाउन प्रयोग गरिन्छ भनेे यस रुखको पात विभिन्न जनावरहरूको मनपर्ने भोजन अन्तर्गत पर्दछ। रुखकटहरको फलको बाहिरी भाग बाक्लो र काँटेदार हुन्छ भने यसको भित्री भागमा कोयाहरू हुने गर्दछन्। रुखकटहरको बीउलाई समेत दक्षिण एसियामा एक परिकारको रूपमा लिएको पाइन्छ।
यो ठाडो करीब ३० देखि ७० फिटसम्म अग्लो सदाबहार रुख हो। यसको पात टल्किने, बाक्लो, ९ इन्च सम्म लामो हुने, तथा सम्पूर्ण भागमा लेसिलो सेतो तरल पदार्थ पाइन्छ।[7] दह्रो फूलको मुना रुखको काण्ड र साखाबाट निस्कने, कहिलेकाहीँ पुरानो रुखको माटोभित्र रहेको जराबाट निस्किने गर्दछ। भाले र पोथी फूल छुट्टाछुट्टै निस्किन्छन्। यसको फल सबै फल भन्दा लामो २०–९० सेन्टिमिटरसम्म लामो तथा १५–५० सेन्टिमिटर सम्म चौडाइ भएको हुन्छ। यो सबै रुखहरूको सबैभन्दा ठुलो फल हो र यसको तौल अधिकतम् ५५ केजी (१२० पाउन्ड), लम्बाइ ९० सेन्टिमिटर र व्यास ५० सेन्टिमिटर (२० इन्च) हुन्छ।[13] यसको बाहिरी भाग नोकिलो काँडेदार बाक्लो तथा कडा रबर जस्तो हल्का पहेँलो तथा सेतो–सेतो बोक्रा हुन्छ। भित्री भाग पहेलो केराको सुगन्ध जस्तो गुदी पातलो रिबन जस्तो भागको बीचमा बोक्राको छेउछाउ तिर खाने फल कोसा कोया पाइन्छ र त्यसको बीचमा चिप्लो अन्डाकार हल्का खैरो रङको, २–४ सेन्टिमिटर लामो र १.२५ –२ सेन्टिमिटर चौडा बीउ हुन्छ। एउटा फलमा १०० देखि ५०० बीउहरू हुन्छ। फलको केन्द्रमा अलि लामो भाग हुन्छ। यो पूर्ण रूपले पाके पछि फल नकाटदै नसहने सडेको प्याज जस्तो गन्ध हुन्छ तर फललाई चिरे पछि कोसाको गन्ध भुइँ कटहर तथा केराको गन्ध जस्तो हुन्छ। यसको बीउ निकालेको ३–४ दिन भन्दा बढी उमार शक्ति हुँदैन। बेर्ना रोपेको १८ महिना देखि २.५ वर्षमा फल लाग्न सुरु हुन्छ।
यो आद्र ग्रीष्म रुख भएकोले १५०० मिटर उचाइसम्म राम्रोसँग फस्ट्याउने भएकोले पाइन्छ। यसको लागि आर्द्रता भएको गर्मी तथा गर्मी मौसममा उपयुक्त मानिन्छ। यसको लागि मध्यम किसिमको हिउँद र गर्मी चाहिन्छ। यो तुषारो तथा सुख्खा नसहने रुख हो। ठुलो रुख २७ डिग्री फरेन्हाइटसम्म सहन सक्ने तर नयाँ बोट ३२ डिग्री फरेन्हाइटसम्ममा मरेको पाइएको छ। माटोको पिएच मान ६–८ उपयुक्त हुन्छ। यसको उत्पादनको लागि माटोको गहिराइ भएको दोमट किसिमको पानी नजम्ने तर निकास भएको आवश्यक हुन्छ।[7]
यो साधारणतया बीउबाट विस्तार गरिन्छ। ठुलो भइसकेपछि रुखको भित्री भागबाट मरेका हाँगाहरू काट्न कहिलेकाहीँ मात्र आवश्यक हुन्छ।[7] यसबाहेक फल दिने हाँगाहरू अर्को मौसमको लागि बढ्नको लागि हाँगालाई टेढो गरि काट्नुपर्छ। उत्पादकत्व कायम गर्नका लागि प्रत्येक तीन–चार वर्षमा हाँगाहरू काट्नुपर्छ।[7]
कुनै-कुनै रुखहरूले धेरै साधारण फलहरू बोक्छन् र यी फलहरू प्रायः हटाइन्छ जसले गर्दा अरू फल परिपक्व हुन सक्छन्।[7]
सन् २०१७ मा भारतले १ लाख ४० हजार टन रुखकटहर उत्पादन गरेको थियो। त्यसपछि बङ्गलादेश, थाइल्यान्ड र इन्डोनेसिया लगायतका देशहरूमा उत्पादन बढी भएको थियो।[14]
रुखकटहरको वितरणमा तीनवटा समूह छन् जसमा थोक व्यापारी र खुद्रा व्यापारी लगायत उत्पादक, व्यापारी र उपभोक्त पर्दछन्।[15] ठुला कम्पनीहरूले थोक व्यापारीहरूलाई अपरिपक्व फलहरू बेच्छन्, जसले नगद प्रवाहमा मद्दत गर्दछ र जोखिम कम गर्छ, जबकि मध्यम आकारका वितरकले फललाई सीधै स्थानीय बजार वा खुद्रा व्यापारीलाई बेच्छन्।
उत्पत्ति भएका देशहरूबाहिर दक्षिणपूर्वी एसियाका खाद्य बजारहरूमा ताजा रुखकटहर पाउन सकिन्छ।[7][16] यो ब्राजिलको तटीय क्षेत्रमा पनि व्यापक रूपमा खेती गरिन्छ, जहाँ यसलाई स्थानीय बजारमा बेचिन्छ। यो पहिले नै तयार पारिएको चिनीको घोल वा क्यानमा उपलब्ध छन्। श्रीलङ्का र भियतनाममा रुखकटहर उद्योगहरू स्थापना गरिएका छन्। यस फललाई पीठो, चाउचाउ, पापड र आइसक्रिम जस्ता उत्पादनहरूमा प्रशोधन गरिन्छ।[16] यसलाई निर्यातका लागि तरकारीको रूपमा पनि क्यानमा राखेर बिक्री गरिन्छ।
क्यानमा भरिएका र सुकाइद्वारा प्रशोधन गरिएका दुवै प्रकारका रुखकटहरका परिकारहरू वर्षभरि प्रशस्तै पाइन्छन्। सुकेको रुखकटहरको पापड विभिन्न उत्पादकहरूले उत्पादन गर्छन्।[17] सन् २०१९ मा उल्लेख गरिएझैँ, रुखकटहर अमेरिकी किराना पसलहरूमा व्यापक रूपमा उपलब्ध भएको थियो। सफा र पकाउन तयार हुनुका साथै पूर्वनिर्मित भाँडाकुँडा वा तयार गरिएका सामग्रीहरूमा पनि उपलब्ध भएको थियो।[17]
बिजु (बीउबाट उम्रेको बेर्ना) विरुवा ८–१० वर्षमा फल्न सुरु गर्दछ भने तर कलमी विरुवा ६ वर्ष देखि फल्न हुरु गर्दछ। भाले र पोथी फूलहरू एउटै बोटमा अलग अलग (छुटा छुटै) हुने गर्दछ। सुरुमा भाले फूल गुच्छामा आउँछ अनि पछि पोथी फूल देखिन्छ। भाले फूल सानो फल लागे पछि झरिहाल्छ। तर पोथी फूल रहिरहन्छ र ठुलो फलमा विकसित भएर आउँछ।[18] चैत देखि जेठसम्म फल टिप्ने गरिन्छ। उत्पादनः एउटा राम्रो विकसित भएका रुख जात अनुसार विभिन्न आकारका १००–१३० वटासम्म फल दिने गर्दछ।
रुखकटहर एउटा कृषकको लागि आम्दानीको स्रोत भएको मानिन्छ। यसको फल फागुनदेखि जेठसम्म तरकारीको रूपमा रु. २०–३० प्रति किलोको दरले विक्री हुन्छ जुन बेला विहेबारी हुने तरकारीको प्रशस्त माँग हुने गर्दछ। यसबाट विभिन्न पररिकारहरू बनाउन होटल, रेसटुरेन्टमा प्रयोग गरिने भएकोले ठुला सहरहरूमा महँगो भाउमा विक्री गरिन्छ। साउन भदौ तिर यसको फल पाकेपछि खाना पछि उपभोगमा बढी मूल्यमा रु.३०–४० प्रति किलोको दरले विक्री गाउँघर तथा सहरमा हुने गर्दछ।
यो फल सर्वसाधारणले कलिलो र सानो अवस्थामा तरकारी, पकौडा, बाडा, पापड तथा विभिन्न समुदायले विभिन्न परिकारहरू विभिन्न अवसरमा बनाइने गरिन्छ। काँचो कटहरलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ।[19] यो पाके पछि गर्मी तथा वर्षा मौषममा बिहान बेलुका खाना पछि खान प्रयोग गरिन्छ। रुखकटहरको पात हिन्दु धर्मावलम्बीहरूले श्राद्धमा पिण्ड दान गर्न तथा कुनै कुनै समुदायमा नुवारनमा अनिवार्य रूपमा प्रयोग गरिन्छ। तराईमा विहेपछि साउनमा साउनी तथा कटहरीको रूपमा कोशेली दुल्हा पक्षबाट दुल्हीकहाँ लग्ने परमपरा छ। यो फलको बोटबाट प्रशस्त पात पतिङ्गर, बाख्राको लागि घाँस, दाउरा तथा छिपिएपछि काठको मुढाबाट अनेकौ फर्निचर र घर बनाउन प्रयोग गरिन्छ।[20] यसको पात तथा मुन्टामा औषधिय गुण भएकोले औषधिको रूपमा प्रयोग गरिन्छ।
ब्राजिलको रियो दे जेनेरियो स्थित तिजुका वन राष्ट्रिय निकुञ्ज र यसको छेउमा पर्ने नितेरीको होर्तो जङ्गलमा विभिन्न प्रजातिहरूका कटहरको उत्पत्ति भएको पाइन्छ। तिजुका वनका प्रायःजसो वनस्पतिहरू १९औँ शताब्दीको मध्यदेखि सुरु भएका थिए भने यस वनमा रुखकटहर उत्पादन क्षेत्रको स्थापना भएदेखिनै रुखकटहर निकुञ्जका वनस्पतिहरूको एक भाग बनेको छ। प्राकृतिक रूपमा रुखकटहरको फल पाकेपछि जमिनमा खस्ने भएकाले यसका फलहरू अमेरिकी प्रजातिका साना बाँदरहरू र बाँदर स्तरका साना स्तनधारी प्राणीहरूले एकदमै उत्सुकतापूर्वक खाने भएकोले कटहरका विभिन्न प्रजातिहरूको विस्तार विभिन्न ठाउँ भएको पाइन्छ। बाँदर लगायतका जनावरहरूले कटहर खानाले ठाउँठाउँमा कटहरको विस्तार भएको पाइन्छ। रुख कटरहको आपूर्तिले गर्दा साना बाँदर र बाँदर स्तरका जनावरको समेत विस्तार भएको पाइन्छ। रुख कटरहरको विस्तारले गर्दा बाँदर लगायतका जनवारहरूले चराहरूको गुँडमा आक्रमण गरि अन्डा खाइदिने वा साना चराहरूलाई मार्ने भएकाले यी जनावरहरूको जनसङ्ख्या वृद्धिले गर्दा स्थानीय चराहरूका लागि खतरा उब्जिएको छ।
शताब्दीयौँदेखि यस फलले भारतीय कृषिक्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। भारतमा ३० देखि ६० हजार वर्षअघि कटहर खेती गरिएको कुरा भारतमा पुरातत्त्वविद्हरूले पत्ता लगाएका छन्। दक्षिणपूर्वी एसियामा पनि यसको व्यापक रूपमा खेती भएको छ।[21]
भियतनाममा, मन्दिरहरूमा बौद्ध मूर्तिहरू बनाउनको लागि रुखकटहरको काठलाई अनमोल मानिन्छ। दक्षिणपूर्व एसियाका बौद्ध वन मठवासीहरूले यसको काठलाई रङको रूपमा प्रयोग गर्छन्।[22] यसले ती परम्पराहरूमा भिक्षुहरूको लुगालाई तिनीहरूको विशिष्ट प्रकाश-खैरो रङ्ग दिन्छ।[23]
रुखकटहर बङ्गलादेशको राष्ट्रिय फल हो[24] भने यो भारतीय राज्य केरल र तमिलनाडुको समेत प्रदेश फल हो।[25][26]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.