विसं २०७२ को महाभूकम्प
From Wikipedia, the free encyclopedia
वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प थियो। भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२[2] मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कयौँ मानिसहरूको हताहात भएको थियो। भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ।
युटिसी समय | ?? |
---|---|
म्याग्निच्युड | ७.६ रेक्टर स्केल |
गहिराइ | १५.० किलोमिटर (९ माइल) |
अधिकेन्द्र | २८.१६५° उत्तर ८४.७२५° पूर्व / 28.165; 84.725 |
प्रकार | धकेल्नु |
प्रभावित क्षेत्र | नेपाल भारत चीन बङ्गलादेश |
अधिकतम् तीव्रता | (हिंस्रक) |
पराकम्पनहरू | ६.७MW १२ वैशाख १२:३० ६.७MW १३ वैशाख १२:५४ दुई साता सम्म दर्जनौ झट्का महसूस भए |
मानवीय क्षति | ७,८८५+ जना मृत्यु [1] १५,९४४+ जना घाइते [1] |
यस भूकम्पले सगरमाथामा हिमपहिरो जान सुरु भएको थपे जसकारण नेपाली र विदेशी गरी २२ जनाको हिमपहिरोमा पुरिएका कारण मृत्यु भएको भने यो हिमपहिरो सगरमाथामा आएको सबैभन्दा घातक हिमपहिरो बनेको थियो।[3] भूकम्पले लाङटाङ उपत्यकामा पनि विशाल हिमपहिरो निम्त्याएको थियो जसकारण २५० जना बेपत्ता भएका थिए। यस महा भूकम्पका कारण नेपालको कयौँ जिल्लाका हजारौँ गाउँ तथा बस्तीका सर्वसाधारणहरू भूकम्पले धक्का दिँदा घर नष्ट भएका कारण कयौँको मृत्यु भएको थियो भने हजारौँ मानिसहरू घरबारविहीन बनेका थिए।[4] यस महा भूकम्पका कारण काठमाडौँ उपत्यकाका युनेस्कोद्वारा विश्व सम्पदा सूचीका सूचीकृत स्थल तथा सयौँ वर्ष पुराना ऐतिहासिक धरोहरहरू आंशिक रूपमा र केही पूर्ण रूपमा ध्वस्त भएका थिए जसमा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौधनाथ स्तूप र स्वायम्भूनाथ स्तूप सामेल छन्।[5][6] नेपाल एक घातक भूकम्पले कमजोर बनेको र मुख्यरूपमा देशको भूविज्ञान र शहरीकरणका कारण भूभौतिकीविद तथा अन्य विशेषज्ञहरूले दशकौँदेखि नेपालमा ठूलो भूकम्प जानसक्ने भन्दै चेतावनी दिएका थिए। यस महा भूकम्पका कारण ६१.८८ मिटर अग्लो नौतले धरहरा भूकम्पको पहिलो धक्कै कारण ध्वस्त भएको थियो भने धरहरा पूर्णरूपमा क्षतिग्रस्त हुँदा यसले कयौँ मानिसहरूको ज्यान लिएको थियो जुन युनेस्कोद्वारा मान्यता प्राप्त काठमाडौँ उपत्यकाको वास्तुकलाको एक हिस्सा थियो।[7][8]
भूकम्प गएको २० मिनटको अन्तरालमा पूरै देशभरी लगातार भूकम्पको पराकम्पहरू गैरहेका थिए भने वैशाख १३ का दिन रातको १२ बजेर ५४ मिनेट जाँदा ६.७ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो जसकारण देशका पहिरोको जाने खतरा बनेको थियो। २९ वैशाख २०७२ का दिन दिउँसोको १२ बजेर ५० मिनेट जाँदा देशले पुनः ७.३ रेक्टर स्केलको भूकम्पको समाना गर्नु परेको थियो जसको केन्द्र काठमाडौँ र सगरमाथाको बीचमा चीनको सिमाना नजिक थियो।[9] यस पराकम्पमा २०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो भने र २,५०० भन्दा बढी घाइते हुँदा कयौँ घरबारविहीन बनेका थिए।[10]