दिव्योपदेश

From Wikipedia, the free encyclopedia

दिव्योपदेश
Remove ads

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा शेरा दरबारमा आफ्ना भारदारहरूलाई देश सञ्चालनका बिभिन्न आयामका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्योपदेशका नामले पनि चिनिन्छ । उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाई छ। पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोही अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा घतिला(गहिरो अर्थ भएका) हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन्।"[] पृथ्वीनारायणले आफ्नो जीवनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।[]

छरितो तथ्यहरू लेखक, देश ...
Remove ads

पृष्ठभूमि

पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको त्रिशूली र तादीको दोभान देवीघाट मोहनतीर्थमा भएको थियो। निधन हुनुअघि केही महिनादेखि बिरामी परेका उनले आफ्ना अभिव्यक्तिहरू सम्भवतः मङ्सिर, पुस महिनामा टिपाएको हुनुपर्छ। लेखपढ गर्न जान्ने मानिसहरू औँलामा गन्न सकिने त्यसबेलामा उनका अभिव्यक्तिहरू लिपिबद्ध गर्ने कार्य गोर्खाली प्रथम सेनापति शिवरामसिंह बस्न्यातका सुपुत्र काजी अभिमानसिंह बस्न्यातले गरेका थिए भनी योगी नरहरिनाथले बृहद आध्यात्मिक परिषद् द्वारा प्रकाशित आफ्नो ‘दिव्य उपदेश पृथ्वीको अर्ति’ नामक पुस्तिकामा उल्लेख गर्नुभएको छ। कलाकार हरिप्रसाद शर्माले पृथ्वीनारायणले आफ्नो बिरामी शैयामा बसी बताइरहेका, उनको सामुन्ने शैयामुनी बसी काजी अभिमानसिंह बस्न्यातले टिपोट लेखिरहेका, शैयाको छेउमा भित्तातर्फ राजकुमार बहादुर शाह कुर्सीमा बसिरहेका, राजवैद्यले औषधि बनाइरहेका, अन्य भाइभारदारहरू वरिपरि बसेर पृथ्वीनारायणका अर्ति उपदेश ध्यानपूर्वक सुनिरहेका दृश्य आफ्नो एक तैल चित्रमा सजीव रूपमा चित्रण गर्नुभएको छ।[]

दिव्योपदेशको पाण्डुलिपि अभिमानसिंहका सन्तती इतिहासविद् बखत्मानसिंह बस्न्यात (श्यामकाजी) को घरमा सुरक्षित रहेको पनि योगीले चर्चा गर्नुभएको छ। बखत्मानसिंहको जन्म अभिमानसिंहद्वारा निर्मित असन बालकुमारीस्थित तिलङ्गा घर (सिपाहीको फौजको चित्र लेखिएको घर)मा भएको थियो। अभिमानसिंहले आफूले टिपोट गरी तयार गरेका उक्त पाण्डुलिपि आफ्नै साथमा विशेष जतनका साथ राखेका र पछि उनका विभिन्न पुस्ताले पनि जतनले नै राखेका थिए। राणा शासनको अवस्थामा पृथ्वीनारायणको दिव्योपदेश जस्तो अमूल्य निधिलाई जतनसाथ लुकाएर राख्नु बाहेक बस्न्यात परिवारसँग अरू विकल्प थिएन।

जर्मनीका कुनै एक अन्वेषकले बखतमानसिंहसँग दिव्योपदेशको पाण्डुलिपि छ भन्ने कतैबाट थाहा पाएपछि सो आफूलाई बेच्नका लागि निकै दबाब दिएको तर उनले राष्ट्रको सम्पत्ति विदेश पठाउनु हुँदैन भनी विदेशीलाई नबेची वि.सं. २०२४ मा तत्कालीन राजा श्री ५ महेन्द्रसमक्ष जाहेर गरेका थिए। राजा महेन्द्रको आदेश अनुसार पुरातत्व विभाग (नेपाल)ले दिव्योपदेशको पाण्डुलिपि जिम्मा लिएर २०२५ साल पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्य्यमा दिव्योपदेशको पहिलो संस्करण प्रकाशित गर्‍यो। ‘दिव्यउपदेश’ नाम दिइएको ४१ पृष्ठको पुस्तिका पहिलो पटक तीन हजार प्रति छापी निःशुल्क वितरण गरिएको थियो। यसमा प्रयुक्त कतिपय शब्द प्रचलनबाट हटिसकेका हुनाले पाठक वर्गलाई बुझ्न सहज होस् भनी त्यस्ता शब्दका सही अर्थ खुलाई पादटिप्पणीसमेत पुस्तिकामा दिइएको छ। पादटिप्पणी तयार गर्ने महत्त्वपूर्ण कार्य योगी नरहरिनाथबाट भएको थियो।

योगीले आफ्नो पुस्तिकामा वर्णन गरे अनुसार उक्त ऐतिहासिक पाण्डुलिपि बलियो नुवाकोटी कागजमा कालो पाको मसीले लेखिएको छ। करिब ११ इञ्च लम्बाई, साढे आठ इञ्च चौडाईको १० पृष्ठ रहेको छ। तल्लो भागमा सानो भाग मुसाले काटेको भए पनि अक्षरमा क्षति पुगेको छैन। देवनागरी लिपिको पुरानो लेखन शैली नागराक्षरमा लेखिएको दिव्योपदेशमा पूर्णविरामका लागि अङ्ग्रेजीको जस्तो विन्दु प्रयोग भएका छन्। उक्त पाण्डुलिपि हाल पुरातत्व विभाग (नेपाल)मा विशेष सुरक्षाका साथ राखिएको छ।

दिव्योपदेशको पाण्डुलिपि विदेशीलाई नबेची राष्ट्रलाई नै सुम्पिएको कदर स्वरूप बखतमान सिंहलाई २०२५ सालदेखि २०३८ सालसम्म प्रत्येक वर्ष पृथ्वी जयन्तीको औपचारिक समारोहमा राष्ट्र निर्माताको पूर्णकदको तस्वीर राखिएको नेपाली सेनाको बग्गीमा नै ससम्मान राखी नगर परिक्रमामा सरिक गराइन्थ्यो। दिव्योपदेशको प्रथम संस्करणमा पनि सरकारका तर्फबाट उहाँप्रति धन्यवाद व्यक्त गरिएको छ। राष्ट्रिय सङ्ग्रहालय छाउनीमा ४४ वर्षसम्म सेवा गर्नुभएका इतिहासविद् बखतमान सिंहको ७४ वर्षको आयुमा २०३९ सालमा बालाजु हाइटस्थित आफ्नै निवासमा निधन भयो। []

पाण्डुलिपि

बालकृष्ण पोखरेलले दिव्योपदेशलाई पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्यु भइसकेपछि रणबहादुर शाहको पालामा लेखिएको तर्क गरेका छन्। २०२२ सालमा प्रकाशित 'इतिहास प्रकाश' मा योगी नरहरिनाथले वि.सं. १८८२ तिर राजेन्द्रविक्रम शाहको समयमा यसको सक्कली पाण्डुलिपि तयार पारिएको दाबी गरेका छन्। इतिहासकारको मत 'दिव्योपदेश' पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो। इतिहासकार नयराज पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन। इतिहासकार बाबुराम आचार्यले यसलाई 'पृथ्वीनारायण शाहको व्याख्यान' नाम दिएका थिए। 'दिव्योपदेश' भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन्। नयराज पन्तले भने यसलाई 'श्री ५ पृथ्वीनारायण शाहको उपदेश' नामाकारण गरेका थिए। []

Remove ads

आर्थिक नीति

  • खानी भएको ठाउँमा गाउँ छ भने, त्यस गाउँलाई अरू जग्गामा सारेर खानी चलाउनू, गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू।
  • कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु
  • ‘आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू। नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ। राजाका भन्डार भन्याका रैतानहरू हुन्।


विदेश नीति

  • यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ। चीन बादशाहसित ठुलो घाहा राष्नु। दषिन समुद्रको बादशाह सित पनि घाहा त राख्नु। तर त्यो महाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमी मा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ।’
  • ‘भोटको घाहा कालु पांडेका सन्तानलाई नछुटाउनु’

आन्तरिक नीति

  • मेरा साना दुखले आर्ज्याको मुलुका होइन। यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो।
  • ‘अन्याय मुलुकमा हुन नदिनू। निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन्। ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन्।’
  • अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू। अदालतको पैसा दर्बारभित्र नहुल्नू।
Remove ads

आलोचना

आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे। यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।

सन्दर्भ

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads