![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/PratinidhiSabhaApril2022.svg/langne-640px-PratinidhiSabhaApril2022.svg.png&w=640&q=50)
नेपालको पहिलो सङ्घीय संसद
नेपालको संसद / From Wikipedia, the free encyclopedia
नेपालको संविधानले सङ्घीय संसदका रूपमा दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको छ।[6] संविधानको धारा ८३ ले सङ्घीय संसदको तल्लो सदनलाई प्रतिनिधि सभा र माथिल्लो सदनलाई राष्ट्रिय सभाको नाम दिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सम्मिलित नेपालको पहिलो सङ्घीय संसदको स्थापना, वि.सं २०७४ सालमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनबाट भएको थियो।[7]
पाँच वर्षको कार्यकालका लागि २७५ सदस्यीय प्रतिनिधि सभा गठन गर्न १६५ सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक प्रतिनिधित्व प्रणालीद्वारा ११० जना निर्वाचित भएका थिए। २०७४ माघ २४ मा, प्रदेश सभा निर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्यहरू र स्थानीय तह निर्वाचनमा निर्वाचित स्थानीय प्रशासनिक एकाइहरूका अध्यक्ष र उपाध्यक्षहरू मिलेर बनेको प्रादेशिक निर्वाचक मण्डलले कुल ५६ जना निर्वाचित सदस्यहरूका लागि आठ-आठ जना सदस्यहरू निर्वाचित गरेका थिए र सरकारद्वारा मनोनीत र राष्ट्रपतिद्वारा थप तीन जना गरी ५९ सदस्यीय राष्ट्रिय सभा गठन गरिएको थियो।
२०७६ माघ ९ मा, राष्ट्रिय सभा निर्वाचक मण्डलले प्रथम तह का १९ मध्ये १८ सदस्यहरूको चयन गर्न दोस्रो पटक बैठक बसेको थियो।[8] २०७८ माघ १२ मा दोस्रो तहका २० सदस्यहरूको चयन गर्न पुनः निर्वाचक मण्डलको बैठक बसेको थियो।[8]
तात्कालिक प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिपरिषद्को आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।[9][10][11] नेपालको सर्वोच्च अदालतको एक निर्णयपछि २०७७ फागुन १२ मा प्रतिनिधि सभा पुनःस्थापना गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २०७८ जेठ ८ मा प्रतिनिधि सभा पुनः विघटन गरिएको थियो र २०७८ असार २८ मा सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो।[12] पाँच वर्षे कार्यकाल पूरा गरेपछि २०७९ असोज २ मा संसद् विघटन गरिएको थियो।[13]