राजेन्द्र वीरविक्रम शाह
नेपाली राजा / From Wikipedia, the free encyclopedia
गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३मा नेपालका राजा भए। यिनको पालामा सत्ताप्राप्तिका लागि सङ्घर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो। यिनकै पालामा भिमसेन थापाले आत्महत्या गर्नुपर्ने बाध्यता, माथवर सिंह थापा र गगन सिंहको हत्या भएको थियो। दरबारिया भाइ-भारदारहरू बीचको सत्तासङ्घर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता घटनाहरू भए र कैयौँ निर्दोष मानिसहरू मारिए। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुगे। जंगबहादुरको विरोध गरेका कारण नै त्यसो हुन गएको थियो। यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गरेको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बिते।
राजेन्द्र विक्रम शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | विसं १८७३ मङ्सिर ०८ – १९०४ बैशाख ३१ |
पूर्वाधिकारी | गीर्वाणयुद्ध विक्रम शाह |
उत्तराधिकारी | सुरेन्द्र विक्रम शाह |
जन्म | विसं १८७० मङ्सिर २० वसन्तपुर, नेपाल |
मृत्यु | विसं १९३८ साउन ३०[1] भक्तपुर, नेपाल |
वंश | शाह वंश |
बाबु | गीर्वाणयुद्ध विक्रम शाह |
आमा | गोरक्ष राज्य लक्ष्मी देवी शाह |
धर्म | हिन्दु |
राजेन्द्र विक्रम शाह बुद्धिले कुशाग्र, हृदयले महान्, भावनाले राष्ट्रिय भए तापनि भाग्यले एक अभागी राजा थिए ।[2] करीव ३१ वर्षको उनको राज्यकाल (वि. सं.१८७३ - १८०४ ) मा नेपालमा जति अमानवीय घटनाहरू घटित भए र साथै देशभक्तहरूको इहलीला जुन बबर तरीकाबाट समाप्त गरियो त्यति कुनै पनि राजाको राज्यकालमा नेपालको इतिहासले प्रस्तुत गर्न सकेको छैन । दरवारभित्रका तत्कालीन स्वार्थी भारदारहरूको देश बेचुआ राजनीति, ईस्ट इण्डिया कम्पनीका पदाधिकारीहरूको नेपाल हड्पने कूटनीति र केही सीमित व्यक्तिका व्यक्तिगत स्वार्थ र दुराकांक्षा नै ती अमानवीय घटनाहरूका मूल कारण हुन् । जसले गर्दा नेपालको इतिहाससम्म भांडिन र राष्ट्र आफ्नो राष्ट्रिय चरित्र,मर्यादा, गौरव र संस्कृतिसम्मलाई प्रश्नवाचक चिह्नले हेर्ने स्वभावले प्रेरित भयो ।