From Wikipedia, the free encyclopedia
उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिकआसनमा बस्नु। उपनिषदहरूलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरूलाई वेदको ज्ञानकाण्ड मानिन्छ। वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ। जङ्गलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरूलाई आरण्यक पनि भनिन्छ। उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ। उपनिषदहरू हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ।[1][2]
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दु तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ।
पुराना उपनिषद्हरू मध्ये ऐतरेय र कौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीय र बृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्न र मुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्।
रामकृष्ण मठका संस्थापक मध्ये एक स्वामी परमानन्दका अनुसार उपनिषदहरूमा प्रतिपादन गरिएका दुइ मुख्य महावाक्य छन्ः तत् त्वम् असि र अहं ब्रह्मास्मि।[3]
उपनिषद्, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ। विद्वानहरूले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन्। कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन्। वेदका मन्त्रद्रष्टा ऋषिको नाम पाइन्छ। पुराण र स्मृतिहरूमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन। यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन्। उपनिषदहरूमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसै प्रकारको विधि ग्रीक दार्शनिक प्लेटोले आफ्ना व्याख्यानहरूमा प्रयोग गरेका छन्।[4]
अरबी दार्शनिक अल–बिरुनीले ११औँ शताब्दीमा हिन्दुहरूका धर्म ग्रन्थ अध्ययन गरेको प्रमाण पाइन्छ। किनभने उनले हिन्दु दार्शनिक ग्रन्थ गीतोपनिषदको मुक्त कण्ठले प्रशंसा गरेका छन्। शाहजहांको जेठो छोरा दाराशिकोहले काश्मीरका पण्डितहरूको मद्दतले सन् १६४४ देखि सन् १६५० को अवधिमा ५० वटा उपनिषदको फारसी भाषामा अनुवाद गराएका थिए। संभवतः यो नै पहिलो अनुवाद थियो। सन् १५५६ मा अकबरले पनि केही उपनिषदको अनुवाद गराएका थिए तर पनि सन् १७७५ सम्म कुनै पनि यूरोपियन विद्वानले उपनिषदहरूतिर ध्यान दिएको पाईंदैन।
अयोध्याको नवाब सुजाउद्दौलाको राजसभाका पर्सियन रेजीडेन्ट एम गेन्टिलले सन् १७५५ मा प्रसिद्ध फ्रेञ्च दार्शनिक र विश्व यात्रु एन्क्वेटिल डुपेर्रिनलाई दाराशिकोहद्वारा गराइएको उपनिषदको पर्सियन अनुवाद उपलब्ध गराए। एन्क्वेटिलले सन् १७५५ देखि १७६१ सात वर्ष पान्डिचेरी, वाराणसी, अयोध्या आदि विभिन्न स्थानमा हिन्दु दर्शनको अध्ययनका लागि भ्रमण गरेका थिए। भनिन्छ एन्क्वेटिलले एक अर्को प्रति पनि कतैबाट भेटाएका थिए। अनि उनले पहिलो पटक युरोपियन भाषाहरू अर्थात् ल्याटिन र फ्रेन्चमा अनुवाद गरेर प्रकाशित गरे। तथापि सन् १८०१–२ मा ल्याटिन अनुवाद औपनिखत OPNIKHAT नामले प्रकाशित भयो तर फ्रेन्च अनुवाद बजारमा आउन सकेन। यसरी यो युरोपका विचारकहरूको जानकारीमा आयो तर अनुवादको पनि अनुवाद भएकोले ज्यादै दुर्बोध्य थियो जसलाई धेरैले बुझन सकेनन्। जर्मन दार्शनिक शोपेन हावरले परिश्रमपूर्वक त्यस उपनिषदको अध्ययन गरे। त्यसलाई पढेर उनी ज्यादै प्रभावित भए। यो कठ उपनिषद् थियो। उनले आफ्ना लेखहरूमा भनेका छन्- उपनिषदका ऋषिहरूले गरे जति उच्च, पवित्र र गम्भीर चिन्तन विश्वमा अरु कसैले गर्न सक्दैन। उपनिषद् ग्रन्थहरूको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरूको विषय वस्तु चारकुने छ। जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ।
सन् १८४४ मा बर्लिनमा साहित्यकार शेलिंग महोदयको प्रवचनमाला सुनेर म्याक्समूलरको ध्यान उपनिषदतर्फ आकर्षित भएको हो। म्याक्समुलर[5] रामकृष्णका जीवन र उपदेशबाट ज्यादै प्रभावित थिए। भनिन्छ, त्यसबेला बेलायतका एक जना साहित्यका प्राध्यापकले बङ्गालमा रामकृष्णको प्रवचन सुनेर उनको अलौकिकता अनुभव गरिसकेका थिए। संभवतः शेलिंग उनै साहित्यकार थिए।
म्याक्समुलरले उपनिषदको सांगोपांग अध्ययन गर्न संस्कृत भाषाको गहिरो अध्ययन गरे। उनले मूल संस्कृतका पुस्तक पढेर तिनीहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेका थिए। म्याक्स मुलरसंग स्वामी विवेकानन्द कति प्रभावित थिए भने उनले म्याक्स मुलरसंग उनका घर गइ भेट गरेर सम्मान व्यक्त गरेका थिए। सन् १८७९ मा म्याक्स मुलरले युरोपेली पाठकका लागि कठ उपनिषद्को पहिलो बोधगम्य अनुवाद प्रस्तुत गरे। यसबाट यो यूरोपमा चर्चित भयो। तर यसको अङ्ग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अङ्ग्रेजी, र फारसीका विद्वान राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ। बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन्। समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बङ्गाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो।
त्यस पछि यस उपनिषदका अङ्ग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरू भए। सर एडविन आर्नोल्डले कठ उपनिषदको अङ्ग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए। सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरू पाएको जानकारी दिएका छन्। रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरू ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अङ्ग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिस शिष्यहरूलाई प्रवचन गरेका थिए। यो सन् १९१९ मा पुस्तकाकार रूपमा प्रकाशित भयो। तर यूरोपेली पाठकहरूका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अङ्ग्रेजी अनुवाद मात्र राखिएको थियो।
ब्रिटिस कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरू लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरूको उपमा दिएका छन्। श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ। इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरू उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन्। यूरोपेली विद्वानहरूले प्रशंसा गरेकोले उपनिषद्हरूको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरू धन्य बनेकोमा हामीहरू गौरवान्वित भएका छौं।[6] राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन्। इमरसन ती अमेरिकन कवि हुन् जसले अङ्ग्रेजीमा ब्रह्म कविता लेखेका छन्। यो कविता त्रि वि मा अङ्ग्रेजीको पाठ्यक्रममा राखिएको छ।
उपनिषदहरूको सङ्ख्या १२८० बताइए पनि अधिकांश उपनिषद् अहिले प्राप्त छैनन्। पं. श्रीराम शर्मा आचार्यले यसबाट १०८ उपनिषद् सङ्कलन गरी उचित सम्पादन तथा हिन्दी भाषाको बोधगम्भय अनुवाद सहित प्रकाशन गरेर सर्वसाधारणका लागि सुलभ गराउन स्तुत्य कार्य गरेका छन्। यो तीन खण्डको प्रकाशन युगनिर्माण योजना, मथुराले गरेको छ।[7]
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वि.सं. २०३० मा नौ प्रमुख उपनिषदहरूको अनुवाद प्रकाशित गरेको छ।[8] यसका अनुवादक माधव प्रसाद देवकोटा हुन्। यस पछि प्रतिष्ठानले छान्दोग्य र बृहदारण्यक उपनिषदको पनि अनुवाद प्रकाशित गरेको छ। समय समयमा विद्वानहरूले विभिन्न उपनिषदहरू अनुवाद र व्याख्या प्रकाशित गरेका छन्। नेपाली विद्वानहरूले पनि उपनिषदहरूमा निकै रुचि राख्नु भएको कुरा यी अनुवादहरूले स्पष्ट गर्दछन्।
वि. सं. २०७२ मा डिकुरा पब्लिकेसनले प्रा. डा. रामचन्द्र भट्टले लेख्नुभएको उपनिषदमा के छ ? भन्ने धेरै सारगर्भित पुस्तक प्रकाशन गरेको छ।
प्रसिद्ध दार्शनिक हयूमले भनेका छन्, सोक्रेटिज, एरिस्टोटल, प्लेटो आदि धेरै दार्शनिकका ग्रन्थहरू मैले पढें तर जस्तो शान्तिदायिनी विद्या मैले उपनिषदमा पाएं त्यस्तो अन्यत्र कहीं मैले भेटिनं। मुगल सम्राट शाहजहां पुत्र दाराशिकोहले भनेका छन्, मैले कुरान, तौरेत, इञ्जील, जबुर आदि ग्रन्थ पढेको छु। तिनीहरूमा ईश्वर सम्बन्धी जुन वर्णन छ त्यसले मनको तिर्खा मेटिएन। त्यस पछि हिन्दुहरूका ग्रन्थ पढें। तिनीहरू मध्ये उपनिषदको ज्ञान कस्तो छ भने त्यस ज्ञानले आत्मालाई शाश्वत शान्ति र सच्चा आनन्द दिन्छ। हजरत नवीले पनि एक आयतमा गरेको सङ्केत यिनै पुस्तकहरूका लागि हो। आचार्य रजनीशले भनेका छन्, संसारका सबभन्दा अनौठा पुस्तकहरू हुन्–उपनिषद्, त्यसमध्ये सबभन्दा अनौठो कठ उपनिषद्। सत्य साई बाबाले उपनिषदलाई हिन्दु संस्कृतिका सर्वाधिक अमूल्य निधि बताएका छन्।
अद्वेत वेदान्तमा उपनिषद्को सारंश एक वाक्यांमा लेखिएको छ : तत् त्वं असि (तिमी त्यही हौ)। र निचोडमा निराकार व्रह्म तथा आत्म एकै हुन् भनिएको छ।
उपनिषद्ले ओम् शब्द एक आलौकिक शब्द भएको भन्ने सबैभन्दा राम्रो तरिकाले परिभाषित गरेको छ र यसले उत्पन्न गराउने कम्पनले परमात्मा सँग एक गराउँदछ भन्ने उल्लेख गरेको छ। ईशा उपनिषद्ले आत्मको बारेमा यसरी उल्लेख गरेको छ :
जसले आत्ममा सम्पूर्ण जीवहरू देख्दछ तथा सम्पूर्ण जीवहरूमा आत्म, आत्मबाट कहिल्यै हट्दैन।
ओम् शान्ति शान्ति शान्ति यो मन्त्र, जसले आलौकिक शान्तिको निम्ता गर्दछ, उपनिषद्मा सबैभन्दा पहिले भेटिन्छ।
उपनिषदहरूको ठीक सङ्ख्या सङ्ख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन। व्यासले माण्डूक्य उपनिषद्लाई शुक्ल यजुर्वेदबाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद् बनेको छ। ऋग्वेदका कुल २१ शाखाहरू छन् जसबाट २१ एपनिषद् बने। यजुर्वेदका १०९ शाखाबाट १०९ उपनिषद् बने। सामवेदका १००० शाखाबाट त्यति नै उपनिषद् बने तथा अथर्ववेदबाट ५० उपनिषद् बनेका छन्। यसरी उपनिषदहरूको सङ्ख्या ११८० हुन आउंछ। तर अधिकांश उपनिषद्हरू लोप भएका छन्। आस्तिक तथा वेद पण्डितहरूको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरू पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ।[9] जर्मन संग्रालयमा २६० उपनिषद् छन् भनिन्छ तथापि सन्त, विद्वान र ज्ञानपिपासुहरूले खोजी गरेर हाल १०८ उपनिषदहरू सुरक्षित राखेका छन्। आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरूको भाष्य गरेर तिनीहरूलाई सुरक्षित राख्ने काम गरे पछि यी १० उपनिषदहरू ज्यादै प्रसिद्ध भएका छन्।[10] यिनै १० उपनिषद्हरूलाई १०८ उपनिषदका आधार मानिन्छ
निम्नलिखित १० उपनिषद्लाई मुख्य उपनिषद् भनिन्छ।
शेष ९८ उपनिषदहरू यस प्रकार छन् [11]–
१.ब्रह्म | २.कैवल्य | ३.श्वेताश्वतर | ४.जाबालि | ५.हंस | ६.गर्भ | ७.अरुणि | ८.परमहंस | ९.अमृतनाद | १०.नारायणि |
११.अमृतबिन्दु | १२.अधर्वशिखा | १३.अधर्वशिर | १४.कासितार | १५.मैत्रायणि | १६.नृंिसहंतथिगनि | १७.बृह्मजाल | १८.मैत्रेयि | १९.कालाग्निरुद्र | २०.सुलभ |
२१.मांत्रिक | २२.क्षिति | २३.निरालम्ब | २४.सर्वहर | २५.वज्रसूचिका | ६.शुभरहस्य | २७.तेजोबिन्दु | २८.नादबिन्दु | २९.ध्यानबिन्दु | ३०.ब्रह्मविद्या |
३१.आत्मबोधक | ३२.योगतत्व | ३३.नारदपरिव्राजक | ३४.ब्राह्मण | ३५.सीता | ३६.योगचूडामणि | ३७.निर्वाण | ३८.मण्डल | ३९.दक्षिणामूर्ति | ४०.स्कन्द |
४१.शरभ | ४२.अद्वैत | ४३. तारक | ४४.महानारायण | ४५.सौभाग्यलक्ष्मि | ४६.सरस्वतीरहस्य | ४७. मुक्तिक | ४८.भावरिच | ४९.रामतपन | ५०.रामरहस्य |
५१.मुदगलि | ५२.वासुदेव | ५३.पिंगल | ५४.शाण्डील्य | ५५.महाभिक्षुक | ५६.योगशिक्षा | ५७.संन्यास | ५८.तुरियातीत | ५९.परमपरिव्राजक | ६०.नृसिंह |
६१.अक्षमालिका | ६२.अन्नपूर्णा | ६३.एकाक्षर | ६४.अक्षिक | ६५.अध्यात्म | ६६.प्रश्न | ६७.सूर्य | ६८.कुण्डिकादृव्य | ६९.आत्मा | ७०.सावित्रि |
७१.परब्रह्म | ७२.पाशुपत | ७३.त्रिपुरतपन | ७४.अवधूत | ७५.त्रिपुर | ७६.देवि | ७७.भावन | ७८.कथ | ७९.योगकुण्डलि | ८०.रुद्रहृदय |
८१.रुद्राक्ष | ८२.भस्म | ८३.दर्शन | ८४.गणपति | ८५.ताहशव | ८६.महावाक्य | ८७.पंचब्रह्म | ८८.गोपालतयनि | ८९.प्राणाग्निहोत्र | ९०.गरुड |
९१.कृष्ण | ९२.दत्तात्रेय | ९३.वराह | ९४.याज्ञवल्कय | ९५.सत्यायन | ९६.अव्यक्त | ९७.हयग्रीव | ९८.कलिसन्तरण |
उपनिषदहरूको अनुवाद एक जटिल र श्रम साध्य कार्य हो। दर्शन, कला, विज्ञान, प्रविधि, र भाषाका क्षेत्रमा भएका अनेकौँ प्रगति र उपब्धि भए तापनि उपनिषदको विषय वस्तुको प्राविधिक शब्दावली आज पनि आफ्नै मूल स्वरूपमा रहेको छ। यसको सान्दर्भिकता उसको आफ्नै भाषा शैलीमा छ। यसले उपनिषदको विषय वस्तु र प्रस्तुतिकरण देश, काल, र समयभन्दा अतीत छ भन्ने कुरा पुष्टि गर्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.