हुमायुन आहमेद
बङ्गलादेशी साहित्यकार तथा चलचित्र निर्देशक / From Wikipedia, the free encyclopedia
हुमायुन आहमेद (१३ नोभेम्बर १९४८ - १९ जुलाई २०१२) एक बङ्गलादेशी उपन्यासकार, लघु कथा लेखक, नाटककार र गीतकार, पटकथा लेखक तथा चलचित्र निर्माता थिए।[3][4] उनी बीसौँ शताब्दीका सबैभन्दा लोकप्रिय बङ्गाली कथा लेखकहरू मध्ये एक हुन्। उनलाई बङ्गलादेशको स्वतन्त्रतापछिका महान् लेखकहरूमध्ये एक मानिन्छ। उनी बङ्गाली कथामा संवादको नयाँ शैलीका अग्रणी साहित्यकार तथा आधुनिक बङ्गाली विज्ञान कथाका प्रवर्तक हुन्। उनी एक नाटक र चलचित्र निर्देशकको रूपमा पनि प्रशंसित छन्। उनका प्रकाशित पुस्तकको सङ्ख्या तीन सयभन्दा बढी रहेको छ। उनका धेरै पुस्तकहरू विश्वका विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् जसमध्ये केही विद्यालय, कलेज तथा विश्वविद्यालयहरूको पाठ्यक्रममा समावेश गरिएको छ। मिसिर आली र हिमु उनले सिर्जना गरेका दुई लोकप्रिय काल्पनिक पात्रहरू हुन्।
हुमायुन आहमेद | |
---|---|
मूल नाम | হুমায়ূন আহমেদ |
जन्म | (१९४८-११-१३)१३ नोभेम्बर १९४८[1] नेत्रकोना, मयमनसिंह, पूर्वी बङ्गाल, पाकिस्तान (हाल नेत्रकोना, मयमनसिंह विभाग, बङ्गलादेश) |
मृत्यु | १९ जुलाई २०१२(2012-07-19) (उमेर ६३) न्युयोर्क, संयुक्त राज्य अमेरिका |
समाधि स्थल | नुहास पोल्ली, पिरूजाली सङ्घ, गाजीपुर, बङ्गलादेश |
पेशा | लेखक, चलचित्र निर्देशक, पटकथा लेखक, नाटककार |
राष्ट्रियता | बङ्गलादेशी |
शिक्षा | पोलिमर रसायनशास्त्रीमा विद्यावारिधी |
अल्मा मेटर | ढाका विश्वविद्यालय (विज्ञान स्नातक, विज्ञान स्नातकोत्तर) नर्थ डाकोटा स्टेट विश्वविद्यालय, (विद्यावारिधि) |
उल्लेखनीय पुरस्कारहरू | बाङ्ला एकेडेमी साहित्य पुरस्कार एकुशे पदक |
सक्रिय अवधि | सन् १९७२–२०१२ |
जीवनसाथी |
|
बच्चाहरू |
|
आफन्तहरू |
|
हस्ताक्षर |
ढाका कलेजबाट उच्च माध्यमिक शिक्षा पूरा गरेपछि उनले ढाका विश्वविद्यालयबाट रसायन शास्त्र र नर्थ डकोटा स्टेट युनिभर्सिटीमा पोलिमर रसायनशास्त्रको अध्ययन गरे। उनले ढाका विश्वविद्यालयमा रसायनशास्त्रको प्राध्यापकको रूपमा लामो समयसम्म काम गरेका थिए। पछि उनले लेखन र चलचित्र निर्माणका लागि शिक्षण पेशा त्यागेका थिए।
सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्ध क्रममा उनलाई पाकिस्तानी सेनाद्वारा पक्राउ गरी यातना दिइएको र गोली हानी गम्भीर घाइते बनाएको थियो। यद्यपि उनी चमत्कारिक रूपमा बाँच्न सफल भएका थिए।[5] हुमायुुन आहमेदको पहिलो उपन्यास नन्दित नरके सन् १९७२ मा प्रकाशित भएको थियो। सन् १९७० को दशकदेखि आफ्नो मृत्युसम्म उनी बङ्गाली कथा र उपन्यासका एक अद्वितीय साहित्यकार थिए। यस अवधिमा उनका कथा र उपन्यासको लोकप्रियता निकै उच्च रहेको थियो। हिमु, मिसिर आली र शुभ्रो पात्रहरूको उनको अभूतपूर्व सिर्जनाले बङ्गलादेशका युवाहरू माझ नयाँ तथा गहिरो तरङ्ग छाडेको छ। विज्ञान कथा पनि उनको सिर्जनाको एक भाग हो उनले लेखेको पहिलो विज्ञान कथा तोमादेर जोन्नो भालोबासा हो। त्यसपछि उनका टेलिभिजन नाटकहरूले निकै लोकप्रियता प्राप्त गरेका थिए। सङ्ख्यामा धेरै नभए पनि उनले लेखेका गीतले पनि लोकप्रियता हासिल गरेका छन्। उनका केही उपन्यासहरू मध्यहु, जोछना र जननीर गोल्पो, मताल हावा, लीलावती, कवि, बादशाह नामदार आदि हुन्। सन् १९८१ मा उनले बङ्गाली साहित्यको उपन्यास शाखामा उनको उल्लेखनीय योगदानको लागि बाङ्ला एकेडेमीद्वारा प्रदान गरिएको बाङ्ला एकेडेमी साहित्य पुरस्कार प्राप्त गरेका थिए। सन् १९९४ मा बङ्गलादेश सरकारले उनलाई बङ्गाली भाषा र साहित्यमा उनको योगदानको लागि देशको दोस्रो सर्वोच्च नागरिक सम्मान एकुशे पदकबाट सम्मानित गरेको थियो।
उनीद्वारा निर्मित चलचित्रहरूको सामान्य रूपमा व्यापक प्रशंसा गरिएको थियो। सन् १९९४ मा बङ्गलादेशको मुक्ति युद्धमा आधारित उनको पहिलो चलचित्र आगुनेर परश्मोनी सार्वजनिक भएको थियो। यस चलचित्रले उत्कृष्ट चलचित्र विधामा राष्ट्रिय चलचित्र पुरस्कार सहित आठ वटा पुरस्कार जितेको थियो। उनका अन्य प्रशंसित चलचित्रहरू श्रावण मेघर दिन (सन् १९९९), दुई दुवारी (सन् २०००), श्यामल छाया (सन् २००४) र घेतु पुत्र कमला (सन् २०१२) हुन्। 'श्यामल छाया' र 'घेतुपुत्र कमला' बङ्गलादेशबाट विदेशी भाषाको चलचित्र विधामा ओस्कार पुरस्कारका लागि मनोनयनमा परेका थिए। उनले आफ्नो चलचित्र घेतु पुत्र कमलाको लागि सर्वश्रेष्ठ निर्देशक विधामा राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरेका थिए।