From Wikipedia, the free encyclopedia
बङ्गाली जाति (बङ्गाली: বাঙালি জাতি) दक्षिण एसियाको एक विशेष हिन्द-आर्य जातीय समूहको नाम हो। बङ्गाली जातिको स्थानीय जनसङ्ख्या बङ्गलादेश र भारतको पश्चिम बङ्गाल, त्रिपुरा, बाराक उपत्यका, तल्लो आसाम र मणिपुरका केही भागहरूमा विभाजित छन्।[28] तिनीहरूमध्ये अधिकांशले बङ्गाली भाषा बोल्दछन् जुन हिन्द-इरानी भाषाहरूको एक विशेष भाषा हो।
जम्मा जनसङ्ख्या | |
---|---|
२८.५ करोड [1][2] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
बङ्गलादेश १६,७८,८५,६८९[3]
भारत १०,७२,२८,९१७[4][5] | |
पाकिस्तान | ५०,००,०००[6][7][8][9] |
साउदी अरब | १३,०९,००४[10] |
संयुक्त अरब इमिरेट्स | १०,८९,९१७[11] |
संयुक्त अधिराज्य | ४,५१,०००[12] |
कतार | २,८०,०००[13] |
संयुक्त राज्य अमेरिका | २,५७,७४०[14][15] |
मलेसिया | २,२१,०००[16] |
कुवेत | २,००,०००[17] |
इटाली | १,३५,०००[18] |
सिङ्गापुर | १,००,०००[19] |
बहराइन | ९७,११५[20] |
क्यानडा | ६९,४९०[21] |
अस्ट्रेलिया | ५४,५६६[22] |
नेपाल | २१,०६१[23] |
जापान | १७,४६३[24] |
दक्षिण कोरिया | १३,६००[25] |
इन्डोनेसिया | ८,०००[26] |
आयरल्यान्ड | ८,०००[27] |
भाषाहरू | |
बङ्गाली र यसको उपभाषा अरबी বা संस्कृत (धार्मिक क्षेत्रमा) अङ्ग्रेजी, उर्दु[lower-alpha 1] | |
धर्महरू | |
इस्लाम - १९.२ करोड(६७%) हिन्दु - ९.१ करोड (३२%) अन्य बौद्ध , इसाई - ०.५ करोड (१%) | |
सम्बन्धित जातीय समूह | |
हिन्द-आर्य जाति |
चिनियाँ र अरबी जाति बाहेक बङ्गालीहरू विश्वको तेस्रो ठूलो जातीय समूह हो र तिनीहरू हिन्द-युरोपेलीहरूमध्ये सबैभन्दा ठूलो जातीय समूह हुन्।[29]अण्डमान र निकोबार द्वीपको जिन्जिरामा आफ्नो पैतृक क्षेत्रबाहेक बङ्गालीहरूको बाहुल्यता भारतको केही क्षेत्रहरूमा रहेको छ। नेपालको कोशी प्रदेश, भारतको अरुणाचल प्रदेश, दिल्ली, उडिसा, छत्तीसगढ, झारखण्ड, मेघालय, मिजोरम, नागाल्याण्ड, उत्तराखण्डमा बङ्गालीहरूको ठूलो जनसङ्ख्या रहेको छ।[30] मध्यपूर्व, पाकिस्तान, बर्मा, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, मलेसिया, इटाली, सिङ्गापुर, माल्दिभ्स, क्यानडा, अस्ट्रेलिया, जापान र दक्षिण कोरियामा बङ्गालीको सुस्थापित समाजहरू रहेका छन्।
बङ्गाली धार्मिक सम्बद्धता र अभ्यासको हिसाबले एक विविध जातीय समूह हो। हाल ६७ प्रतिशत बङ्गालीहरू इस्लाम धर्मको पालन गर्दछन् भने यसबाहेक त्यहाँ इसाई र बौद्ध समुदायहरूको साथसाथै ठूलो हिन्दु अल्पसङ्ख्यक पनि रहेको छ। इतिहासका हरेक प्रमुख राष्ट्रजस्तै बङ्गालीहरूले पनि कला र वास्तुकला, भाषा, लोककथा, साहित्य, राजनीति, सेना, व्यापार, विज्ञान र प्रविधिजस्ता विभिन्न क्षेत्रमा ठूलो प्रभाव र योगदान दिएका छन्।
बङ्गाली शब्दले त्यस्तो व्यक्तिको वर्णन गर्दछ जसको भाषिक, वंशाणुगत र साँस्कृतिक पहिचान मुख्यतया बङ्गालसँग सम्बन्धित छ। यो हिन्द-आर्य जाति अन्य गैर-हिन्द आर्य जातिभन्दा फरक छ। बङ्गाली शब्दको उत्पत्ति बङ्गला नामक एक फारसी शब्दबाट भएको हो जसले बङ्गला नामक एक क्षेत्रलाई जनाउँदछ। मुसलमानहरूको फैलावट हुनुपूर्व बङ्गला भनिने कुनै क्षेत्र नभएको र यो क्षेत्र धेरै भू-राजनीतिक उप-राज्यहरूमा विभाजित थियो। यस्ता क्षेत्रहरू दक्षिणमा बङ्ग (जसको नामबाट बङ्गाल शब्द आएको विश्वास गरिन्छ), पश्चिमी क्षेत्रमा राट, उत्तरमा पुण्ड्रवर्धन वा वरेन्द्र र पूर्वी क्षेत्रमा समतट वा हरिकेलमा विभाजित थियो। प्राचीन कालमा यस क्षेत्रका मानिसहरूले यी विभाजनहरूको नामकरण गरेर आफ्नो साँस्कृतिक पहिचान दिने गर्दथे। महाभारत जस्ता वैदिक ग्रन्थहरूमा पुण्ड्र नामक राष्ट्रको उल्लेख गरिएको छ।
इब्राहिमी र भारतीय धर्मका इतिहासकारहरू प्राचीन बङ्गाल साम्राज्यको स्थापना बङ्ग नामका एक व्यक्ति थिए जो यस क्षेत्रमा बसोबास गर्थे भनेर विश्वास गर्छन्। इब्राहिमी वंशावलीकारहरू बङ्ग नूहका छोरा र हामका नाति हुन् भनी विश्वास गर्थे।[31][32] 'बङ्ग' शब्दको पहिलो उल्लेख ईसापूर्व ३० मा 'ऐतरेय अरण्यक' पुस्तकमा पाइन्छ। मुगल बादशाह अकबरका सभासद अबुल फजल इबन मुबारकले आफ्नो पुस्तक ऐनेे-अकबरीमा देशबाचक बङ्गला शब्दको प्रयोग गरेका थिए। भारतीय इतिहासकार गोलम हुसेन सेलिमको रियाजस सलातीनमा पनि बङ्गाल श्ब्दको उत्पत्ति बारे वर्णन गरिएको छ।[31][32]
सन् १३५२ मा शमसुद्दिन इलियास नामक एक मुस्लिम कुलीन व्यक्तिले शाही बङ्गाल नामक सल्तनतको स्थापना गर्दै यसको विभाजित क्षेत्रलाई पहिलोपटक एकताबद्ध गरेका थिए। इलियास शाहले बङ्गाली उपाधि ग्रहण गर्दा यस युगमा बङ्गाली भाषा राज्यको सहयोगमा साहित्यिक विकासलाई प्रमाणित गर्ने पहिलो भाषा बनेको थियो।[33][34] यसरी इलियास शाहले यस क्षेत्रका जनताको सामाजिक र भाषिक पहिचानलाई औपचारिक रूपमा "बङ्गाली" नाममा रूपान्तरण गरेका थिए।
पुरातत्त्वविद्हरूले बृहत्तर बङ्गाल क्षेत्रमा ४,००० वर्षभन्दा पुरानो ताम्रापाषण युगका सभ्यताहरू फेला पारेका छन् र उनीहरूको अनुसार यो खोज यस क्षेत्रमा बसोबासको प्रारम्भिक सङ्केतहरू मध्ये एक हो भनेर विश्वास गरेका छन्। राङ्गमाटी जिल्ला र फेनी जिल्लामा ढुङ्गाबाट बनाइएका औजारहरू तथा हाते बन्चरोहरू धेरै पुरानो पाषणयुग अन्तर्गत बस्तीहरूमा फेला गरेका थिए। पुरातात्विक तथ्यहरूले हालको नरसिङ्दी क्षेत्रमा वारी-बटेश्वर सभ्यताको विकास ईसापूर्व २००० भएको हो भनेर जनाउँदछ।[35] नदीबाट केही टाढा बन्दरगाह-सहर प्राचीन रोम, दक्षिणपूर्व एसिया र अन्य क्षेत्रहरूसँग विदेशी व्यापारमा संलग्न भएको विश्वास गरिन्छ। यस सभ्यताका मानिसहरू इँटाभट्टाका घरहरूमा बस्थे, चौडा गल्लीहरूमा हिंड्थे, चाँदीका सिक्काहरू र फलामका हतियारहरू प्रयोग गर्दथे। यो बङ्गालको सबैभन्दा पुरानो सहर र सम्पूर्ण उपमहाद्वीपको पूर्वी भागमा मानिन्छ।
दक्षिण बङ्गालमा बङ्गाल राज्यको स्थापनाको समयमा लगभग १००० ईसापूर्वमा, बङ्ग नामक एक व्यक्ति यस क्षेत्रमा बस्न थालेपछि भएको विश्वास गरिन्छ। अथर्ववेद र हिन्दू महाकाव्य महाभारतमा उत्तर बङ्गालको पुण्ड्रा राज्यसँगै यस राज्यको पनि उल्लेख गरिएको छ। मौर्य साम्राज्यको विस्तार र सम्राट अशोकद्वारा बौद्ध धर्मको प्रचार-प्रसारले ईसापूर्व दोस्रो शताब्दीदेखि यस क्षेत्रका मानिसहरूमा बढ्दो बौद्ध समाजको विकास गरेको थियो।[36] मध्य प्रदेशको सान्चीको स्तूपसम्म धेरै मौर्य स्मारकहरूले यस क्षेत्रका मानिसहरूलाई बौद्ध धर्मको अनुयायीको रूपमा उल्लेख गरेका छन्। यस क्षेत्रका बौद्धधर्मावलम्बीहरूले केही गुम्बाहरू निर्माण गरे र दक्षिण भारतको नागार्जुनकोन्डासम्म उनीहरूको धार्मिक प्रतिबद्धताहरूको लागि मान्यता प्राप्त गरेका थिए।[37]
विदेशी लेखनमा बङ्गालको पहिलो उल्लेख लगभग १०० ईसापूर्व युनानीहरूको लेखनमा देख्न सकिन्छ। गङ्गाको मैदानी इलाकामा बसोबास गर्ने गङ्गारिदाई (गङ्गाको हृदय) नामक राष्ट्रको वीरताको बारेमा सुनेर महावीर सिकन्दर बिपाशाको पश्चिमी किनाराबाट आफ्नो विश्व विजयलाई अधुरो छोडेर फर्केको वर्णन गरिएको छ।
बङ्गलादेशमा बङ्गालीहरू सबैभन्दा ठूलो जातीय समूह हो जसले कुल जनसङ्ख्याको ९८ प्रतिशत ओगटेको छ। भारतको जनगणनाले जातीयतालाई मान्यता नदिएपनि सिआइए फ्याक्टबुकको अनुमानअनुसार भारतमा १० करोड बङ्गालीहरू रहेका छन् जुन देशको कुल जनसङ्ख्याको ७% हो।[38] पश्चिम बङ्गाल बाहेक, बाराक उपत्यका र आसामको तल्लो क्षेत्रहरू, साथै त्रिपुरा र मणिपुरका केही भागहरूमा बङ्गालीहरूको जनसाङ्ख्यिकीय बहुमत रहेको छ।[39] त्रिपुरा र बङ्गालको खाडीमा अवस्थित अण्डमान र निकोबार द्वीपसमूहहरूमा बङ्गाली बहुल जनसङ्ख्याको आवास क्षेत्र हो जसमध्ये अधिकांश पूर्वी बङ्गालबाट (हाल बङ्गलादेश) आएका हिन्दूहरूका वंशजहरू हुन् जो सन् १९४७ मा भारतको विभाजनपछि त्यहाँ बसाइँ सरेका थिए।[40][41][42] भारत सरकारको राज्य-वित्तपोषित उपनिवेशीकरण परियोजनामार्फत यी क्षेत्रहरूमा बङ्गाली हिन्दूहरूको पहुँच बढेको थियो।
मूल क्षेत्र भन्दा बाहिरका बङ्गाली समाजहरू मुख्यतया उपमहाद्वीपका अन्य भागहरूमा जस्तै मध्य पूर्व र पश्चिमा देशहरूमा पाइन्छन्। बङ्गाली आप्रवासीहरूबाट बनेको एक महत्त्वपूर्ण जनशाङ्खिकि साउदी अरब, पाकिस्तान र संयुक्त अधिराज्यमा अवस्थित छ जहाँ उनीहरू एक करोड भन्दा बढी जनसङ्ख्याका साथ स्थापित समूदायको गठन गरिसकेका छन्। हिन्दु धर्ममा (काला पानीको नामले परिचित) समुद्री यात्रा निषेधित भएका कारण विदेशी बङ्गाली प्रवासीहरू इस्लाम धर्मका छन्।[43]
बङ्गालीहरूको मुख्य धार्मिक विश्वास इस्लाम धर्ममा आधारित भएकाले यसले अरब देशसँग सम्बन्ध सिर्जना गरेको छ भने मुसलमानहरूले हज पूरा गर्न जीवनकालमा एक पटक यस साउदी अरबमा जानुपर्ने हुन्छ। बङ्गाली सुल्तानहरूले हिजाज नामक क्षेत्रमा इस्लामी मदरसाहरूका लागि आर्थिक सहयोग गरेका थिए जुन अरबहरूका लागि अल-मदारिस अल-बाङालिया नामले चिनिएको थियो। कथित रूपमा, चौधौँ शताब्दीका नुर कुतुब आलम नाम गरेका एक बङ्गाली अलिम धेरै पटक हजमा सहभागी भएका थिए। बङ्गालीहरू अरब देशहरूमा कहिलेदेखि बस्न थाले भन्ने कुरा अज्ञात भएतापनि हाजी शरियतुल्लाह र उस्ताद मओलाना मुराद बीसौँ शताब्दीको सुरुमा मक्का सहरका स्थायी रूपले बस्दथे भन्ने तथ्य ज्ञात छ। ओमानका कुरानका विद्वान् जहुरुल हक र जोर्डनका शाहजादा हसन बिन तलालकी श्रीमती शरबत अल-हसन मध्यपूर्वमा बसोबास गर्ने उल्लेखनीय बङ्गाली व्यक्तित्वहरू हुन्।
युरोपेली महादेशमा बङ्गालीहरूको १६औँ शताब्दीमा इङ्ल्यान्डका राजा जर्ज तृतीयको शासनकालमा पहिलोपटक बसेका थिए।[44] सन् १७६५ मा मुगल साम्राज्यको कूटनीतिज्ञका रूपमा आफ्ना नोकर मोहम्मद मुकिमसँग पहिलोपटक नादियाका बङ्गाली मौलभी शेख इतशमुद्दीन युरोप आएका थिए।[45] आजको दिनसम्म आइसक्दा बङ्गाली मुलका बेलायतीहरूले संयुक्त अधिराज्यमा एक राम्रो स्थापित समाजको निर्माण गरिसकेका छन् भने उनीहरूले देशको दक्षिण एसियाली कुल रेस्टुरेन्टहरू मध्ये ९० प्रतिशत रेस्टुरेन्टहरू चलाउँदछन्।[46]
बङ्गालीहरू आफ्नो मातृभाषाको रूपमा प्रयोग बङ्गाली भाषालाई प्रयोग गर्नु उनीहरूको एक एकीकृत विशेषता हो जुन हिन्द-इरानी भाषाहरू अन्तर्गत पर्दछ।[47] विश्वमा २२ करोड ६० लाख बङ्गालीका मातृभाषी र विश्वव्यापी रूपमा ३० करोड जनसङ्ख्याको हाराहारीमा बोलिने भाषा भएकाले यो विश्वको छैटौँ सबैभन्दा ठूलो भाषा बनेको छ। बङ्गाली भाषा प्रायः बङ्गाली लिपिमा लेखिएको हुन्छ जुन लगभग १०-१२०० ईस्वीमा मगधी प्राकृतबाट विकसित भएको थियो।[48][49][50] थुप्रै प्रयोजनका लागि बङ्गाली भाषा प्रचलित छ र यसले बङ्गालको एकताको लागि आवश्यक प्रभाव प्रदान गर्दछ। बङ्गाली भाषाको विकासक्रमको यी विभिन्न रूपहरूलाई तीन भागमा विभाजन गर्न सकिन्छ:
बङ्गालीहरू मुख्यतया भाषिक र उप-साँस्कृतिक कारणहरूले गर्दा उप-समूहहरूमा विभाजित छन्।
बङ्गालमा प्रचलित सबैभन्दा ठूलो धर्म इस्लाम र हिन्दू धर्म हो।[52] बङ्गालीहरूको कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीमा मुसलमानहरूको बाहुल्यता रहेको छ जसमध्ये बहुसङ्ख्यक मानिसहरू सुन्नी सम्प्रदायलाई पछ्याउँछन् भने त्यहाँ शियाहरूको सानो अल्पसङ्ख्यक पनि रहेको पाइन्छ।[53] बङ्गलादेशमा बङ्गाली मुसलमानहरूको ९०.४% बाहुल्यता रहेको छ भने सम्पूर्ण भारतमा बङ्गाली जातिको ३०% अल्पसङ्ख्यक रहेको छ।[54][55][56][57][58] पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लामा बङ्गाली मुसलमानहरूले कुल जनसङ्ख्याको ६६.८८%, मालदामा ५१.२७% बाहुल्यता राख्दछन् भने २४ परगनाहरूमा उनीहरूको जनसङ्ख्या ५४,८७,७५९ भन्दा बढी रहेको छ।[59]
सबै बङ्गालीहरूमध्ये एक तिहाइभन्दा कम मात्र हिन्दु धर्मका छन् (मुख्यतया, शाक्त र वैष्णवहरू) भने पश्चिम बङ्गालमा (सन् २०११ को जनगणना अनुसार) उनीहरूको ७०.५४% बहुमत छ र बङ्गलादेशमा ८.५४% अल्पसङ्ख्यक रहेको छ।[57][60] बङ्गलादेशमा हिन्दूहरू प्राय: सिलेट विभागमा केन्द्रित छन् जहाँ उनीहरूले जनसङ्ख्याको १७.८% भाग ओगटेका छन्। बङ्गाली हिन्दुहरू प्राय: चट्टोग्राह विभागमा बसोबास गर्छन् जहाँ उनीहरूको सङ्ख्या ३० लाखभन्दा बढी रहेको छ। दाकोप उपजिल्लामा ५६.४१%, कोटालीपारा उपजिल्लामा ५१.६९% र सुल्लाह उपजिल्लामा ५१.२२% हिन्दूहरूको बाहुल्यता रहेको छ। जनसङ्ख्याको हिसाबले भारत र नेपालपछि बङ्गलादेश विश्वको तेस्रो ठूलो हिन्दू बहुल देश हो।[61] यमन, जोर्डन, ताजिकिस्तान, सिरिया, ट्युनिसिया, ओमान र अन्य मुस्लिम बाहुल्य देशहरूको जनसङ्ख्याभन्दा बङ्गलादेशमा कुल हिन्दू जनसङ्ख्या बढी छ। साथै बङ्गलादेशमा कुल हिन्दू जनसङ्ख्या युनान र बेल्जियमको कुल जनसङ्ख्याको लगभग बराबर छ।[62]
अन्य धार्मिक समूहहरूमा बौद्ध धर्मावलम्बीहरू (बङ्गलादेशको जनसङ्ख्याको लगभग १%) र बङ्गाली इसाईहरू पर्दछन्। बङ्गाली इसाईहरूको ठूलो सङ्ख्या पोर्तुगाली यात्रीहरूको वंशज हो।[58] बङ्गाली बौद्ध धर्मावलम्बीहरूको ठूलो भाग बङ्गाली भाषी बरुआहरू हुन् जो चट्टोग्राम र राखिनमा बस्दछन्।
बङ्गालमा कलाको दस्तावेजीकृत इतिहास १३औँ शताब्दी ईसापूर्वमा पाउन सकिन्छ जहाँ विषेश प्रकारको माटोबाट मूर्तिहरू बनाइएका थिए। शाही बङ्गलाको वास्तुकलाले गुम्बजयुक्त मस्जिदहरूको एक विशिष्ट शैली देखाउँछ जसमा जटिल स्तम्भहरू रहेतापनि मीनार भने नभएको हुन्छ। बङ्गाली कलामा हात्तीको दाँत, भाँडाकुँडा र पित्तलका सामानहरू पनि व्यापक थिए।
उत्तर भारतीय पहिरन पोशाक बङ्गाली पोशाकसँग मिल्दोजुल्दो छ। साधारणतया महिलाहरूले साडी, सलवार र कमिज लगाउने गर्दछन्। परम्परागत रूपमा बङ्गाली पुरुषहरूले परम्परागत पोशाक लगाउने गर्दथे यद्यपि सलवार वा पजामा जस्ता पञ्जाबी पहिरनहरू पनि पछिल्लो तीन शताब्दीमा यता अधिक लोकप्रिय भएका थिए। साधारणतया बङ्गालीहरूमाझ फतुआ नामक छोटो माथिल्लो पोशाक पनि लोकप्रियता रहेको छ। धोती, लुङ्गी र गम्छा ग्रामीण बङ्गाली पुरुषहरूको लागि एक सामान्य पोशाक हो। विशेष अवसरहरूमा बङ्गाली महिलाहरूले सामान्यतया साडी, सलवार कमीज लगाउँछन् र मुस्लिम महिलाहरूले हिजाब वा कपाल ढाक्ने बुर्का लगाउँछन्। मुस्लिम पुरुषहरूले पञ्जाबी पोशाकहरू जस्तै टोपी, टाकी, पगडी र रुमालले लगाउँछन् जसले टाउको ढाक्ने गर्दछ।
मुगल बङ्गालको सबैभन्दा प्रसिद्ध कलात्मक परम्परा मलमलमा जामदानी बुन्नु थियो जसलाई हाल युनेस्कोद्वारा अमूर्त साँस्कृतिक सम्पदाको रूपमा वर्गीकृत गरिएको छ। पूर्वी बङ्गालका जमदानी बुन्नेहरूले राजाको संरक्षण पाएका थिए।[63][64]
बङ्गाली साहित्यले बङ्गाली भाषाको लेखक मूललाई बुझाउँछ जुन १३औँ शताब्दीको समयमा विकसित भएको थियो। बङ्गाली साहित्यमा सबैभन्दा पुरानो साहित्यिक लेखन १०औँ र ११औँ शताब्दीका बौद्ध रहस्यमय भजनहरूको सङ्ग्रह चर्यापदमा पाउन सकिन्छ। सन् १९०७ मा हरप्रसाद शास्त्रीले नेपालको शाही दरबार पुस्तकालयमा यिनीहरूको खोजी गरेका थिए। बङ्गाली साहित्यको समयरेखालाई तीन कालखण्ड; प्राचीन (सन् ६५०-१२००), मध्ययुग (सन् १२००-१८००) र आधुनिक (सन् १८०० देखि हालसम्म) विभाजन गरिएको छ। मध्यकालीन बङ्गाली साहित्यमा विभिन्न काव्यात्मक विधाहरूले इस्लामी महाकाव्यहरू जस्तै अब्दुल हकीम, सैयद सुल्तान र अलाओलको लेखनलाई समावेश गरेको छ। बङ्गाली लेखकहरूले धर्म, तमदुन, सृष्टिवाद, प्रेम र इतिहास जस्ता विषयहरूलाई आख्यान र महाकाव्यहरूको माध्यमबाट अन्वेषण गरेका थिए। शाही बङ्गला र आराकान राज्य जस्ता शाही दरबारहरूको बङ्गाली लेखकहरू; शाह मुहम्मद सगीर, दौलत काजी र दौलत वजीर बाहराम खानलाई संरक्षण दिएका थिए।
बङ्गाल पुनर्जागरणले १९औँ र २०औँ शताब्दीको सुरुमा भएको एक सामाजिक-धार्मिक सुधार आन्दोलनलाई बुझाउँछ जुन कलकत्ता सहरको वरिपरि केन्द्रित थियो र मुख्यतया ब्रिटिस राजको संरक्षणमा उच्च जातिका बङ्गाली हिन्दूद्वारा नेतृत्व गरिएको थियो। यस पुनर्जागरणले ब्रह्म समाज नामक सुधारवादी आन्दोलन पनि सिर्जना गरेका थिए। इतिहासकार नितिश सेनगुप्ताका अनुसार बङ्गाल पुनर्जागरण राजा राममोहन रायबाट सुरु भएर एसियाका पहिलो नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरबाट समाप्त भएको थियो।[65] बङ्गाल पुनर्जागरणले मुख्यतया ब्रिटिस उपनिवेशवादीहरूसँगको सम्बन्धको कारण हिन्दू समुदायको प्रतिनिधित्व गरेको थियो। तथापि यस युगमा आधुनिक मुसलमान लेखकहरूका उदाहरणहरू पनि थिए। मीर मोसर्रफ होसेन आधुनिक युगका पहिलो प्रमुख लेखक थिए जो बङ्गाली मुस्लिम समाजबाट उदाएर बङ्गाली भाषाका सर्वश्रेष्ठ गद्य लेखकहरू मध्ये एक बनेका थिए। उनको विशाद सिन्धु नामक कृति बङ्गाली पाठकहरू बीच लोकप्रिय रहेको छ।[66] आफ्नो सक्रियता र विरोधी साहित्यको लागि प्रसिद्ध कवि काजी नजरुल इसलाम हुन् जसलाई "विद्रोही कवि" को रूपमा वर्णन गरिएको थियो र उनलाई बङ्गलादेशको राष्ट्रिय कविको रूपमा चिनिन्छ। बेगम रोकेया त्यस समयको अग्रणी महिला बङ्गाली लेखिका थिइन् जसले सुल्तानाको सपना नामक एक उत्कृष्ट उपन्यास, जसलाई पछि धेरै भाषाहरूमा अनुवाद गरिएको थियो।
विवाहको समयमा बङ्गालीहरूबीच एक वा एक भन्दा बढी समारोह हुने गर्दछ। औपचारिक विवाह बङ्गालीहरू बीच विवाहको सबैभन्दा सामान्य रूप हो र यसलाई समाजको परम्परा पनि मानिन्छ। यद्यपि बहुविवाह पनि केही ग्रामीण भेगहरूमा देख्न सकिन्छ।[67] यो बिलातीको कब्जा भन्दा पहिले बहुविवहा मुस्लिम र हिन्दु दुवैमा ऐतिहासिक रूपमा प्रचलित भने यसलाई समृद्धिको सङ्केत मानिन्थ्यो। विवाहलाई दुई जनाको मात्र नभई दुई खान्दान बीचको मिलनका रूपमा लिइन्छ। परिवार र गाउँहरूबीच सामाजिक बन्धन विकास र कायम राख्न विवाहले ठूलो भूमिका खेल्ने गर्दछ।[68][69] विवहा पूर्व दुई परिवार एक समारोहलाई सहभागी भएपछि कन्या पक्षबाट सामान्य खानपिनको आयोजना गरिन्छ। यस अवसरमा दुलहाको परिवारबाट सलामी ग्रहण गरी विवाहको मिति तय गरिन्छ। परम्परागत बङ्गाली खाना, पान, चिया र मिठाइ जस्ता खानेकुराहरू यस अवसरमा प्रयोग गरिन्छ। त्यसपछि दुलहीलाई मेहन्दी लगाउने काम गरिन्छ। त्यसबाहेक मुख्य कार्यक्रम वालिमा (अरबी परम्परा अनुसार विवहाको भोज) हजारौँ अतिथिहरूलाई भोजन गराइन्छ। त्यसपछि इस्लामी परम्परा अनुसार एक विवहा सम्झौता पत्रमा हस्ताक्षर गरिएको गरिन्छ।[70] यस अवसरमा काजी वा इमाम सामान्यतया यहाँ उपस्थित हुन्छन् र कुरान पाठ गरि दम्पतीको लागि प्रार्थना गर्दछन्। त्यसपछि ज्वाईले श्रीमतीलाई महर दिनुपर्दछ। फिराजात्रा वा फिरखवामा छोरी आमाबाबुको घर फर्कन्छ जसलाई नय्यरको रूपमा चिनिन्छ। त्यहाँ खीर र दूधको परिकारहरूको भोजन गर्न चलन छ। अन्य कार्यक्रमहरूमा केटा पक्षको घरमा आयोजित भोजन कार्यक्रम पनि समावेश छ।
आधुनिक विज्ञानमा बङ्गालीहरूको योगदान विश्वको सन्दर्भमा अभूतपूर्व छ। काजी आजिजुल हक एक आविष्कारक थिए जसले औँठाछाप वर्गीकरण प्रणालीको पछाडि गणितीय आधार सिर्जना गरे जुन अपराध अनुसन्धानका लागि सन् १९९० सम्ममा प्रयोगमा आइसकेको थियो।[71] आब्दुस सात्तार खानले अन्तरिक्ष यान], जेट इन्जिन, रेलमार्ग इन्जिन र औद्योगिक ग्याँस टर्बाइनका लागि चालीस भन्दा बढी विभिन्न उच्च स्तरीय धातुहरूको आविष्कार गरेका थिए। सन् २००६ मा आबुल हुससामले आर्सेनिक फिल्टरको आविष्कार गरेका थिए र उनी सन् २००७ को दिगोपनका लागि ग्रेन्जर च्यालेन्ज पुरस्कारका प्राप्तकर्ता थिए। बायोमेडिकल वैज्ञानिक परवेज ह्यारिसलाई स्ट्यानफोर्ड विश्वविद्यालयले विश्वका एक लाख वैज्ञानिकमध्ये सूचीकृत गरेको थियो।[72] खन्दोकार सिद्दीक-इ-रब्बानीले केन्द्रित प्रतिबाधा मापन विकसित गरेका थिए जुन उन्नत क्षेत्र स्थानीयकरणको माध्यमबाट मानव शरीरमा विद्युत प्रतिरोधको मात्रा निर्धारण गर्ने प्रविधि हो।[73][74]
बङ्गालीहरूले आफ्नो धर्मको आधारमा मुसलमानहरूले इस्लामी बिदा र हिन्दुहरूले हिन्दु चाडहरू मनाउने गरेका छन्। ईद-उल-अजहा र ईद-उल-फित्र जस्ता प्रमुख इस्लामी पर्वहरूमा गरीवहरूलाई जकात र सदाकाह र बालबालिकाहरूलाई पैसा दिइने गरिन्छ।[75] यस समयमा साथीभाइ तथा छरछिमेकहरू गाउँको परिक्रमा गर्नेे र खाना तथा मिठाइ साटासाट गर्छन्। हिन्दू धर्मावलम्बीका मुख्य चाडहरू जस्तै दुर्गा पूजा, दीपावली, डोलजात्रा, जन्माष्टमी आदि विशेष बिदाका दिनहरू हुन्।[76] यसबाहेक दुर्गा पूजाको समयमा नयाँ कपडाहरू किनेर आफन्तलाई दिइने गरिन्छ।
उल्लेखनीय साँस्कृतिक समारोहहरू समुदायद्वारा वार्षिक रूपमा मनाइने गरिन्छ। बङ्गाली पात्रो अनुसार सर्वप्रथम वैशाख महिना पर्दछ भने यस समय रमाइलो साँस्कृतिक मेलाहरू सहित अन्य ग्रीष्मकालिन पर्वहरू मनाइन्छ। फाल्गुन वसन्त जस्ता चाडहरू पनि सबै धर्मका मानिसहरूद्वारा देशव्यापी रूपमा मनाइन्छ।[77] ढाकामा बङ्गालीहरूले वार्षिक रूपमा चङ्गा पर्व मनाउँछन्। नबान्न एक बङ्गाली उत्सव हो जुन पश्चिमी विश्वको खेती काट्ने उत्सवसँग मिल्दोजुल्दो छ।
परम्परागत बङ्गाली खेलहरूमा विभिन्न मार्सल कलाका खेलहरू र कुस्ती खेल समावेश थिए यद्यपि क्रिकेट र फुटबल विदेशी खेलको रूपमा भित्रिएपनि हाल बङ्गालीहरू बीच यी खेल सबैभन्दा लोकप्रिय खेलहरू हुन्।[78] ऐतिहासिक रूपमा लाठीद्वारा खेलिने लाठी खेल बङ्गालीहरू बीच प्रचलित थियोे जसमा लाठीद्वारा युद्धको अभ्यास गरिन्थ्यो। यो खेल ऐतिहासिक रूपमा भूमि र धनको रक्षा गर्न वा अरूको भूमि र धन कब्जा गर्ने एक तरिका थियो। बङ्गालका जमिनदारहरूले तालिम प्राप्त लठियालहरूलाई जनताहरूबाट जबर्जस्ती कर उठाउने साधनको रूपमा प्रयोग गरेका थिए। सन् १९८९ सम्म प्रत्येक वर्ष कुष्टियामा राष्ट्रव्यापी लाठी खेल प्रतियोगिता आयोजना हुँदै आएकोमा हाल यसको प्रचलन घट्दै गएको र यो खेल केही चाडपर्व र उत्सवहरूमा मात्र सीमित बनेको छ।[79] कुस्ती अर्को लोकप्रिय खेल हो जसका विभिन्न क्षेत्रीय रूपहरू छन्। उदाहरणका लागि; सन् १८८९ मा चट्टोग्रामका जमिनदार कादिर बख्सले बोलिखेला (कुस्ती जस्तै खेल) भनिने एक खेलको सुरुवात गरेका थिए। अब्दुल जब्बारको नामले परिचित एक व्यापारीले सन् १९०७ मा बङ्गालीहरूलाई विदेशी आक्रमणकारीहरू विरुद्ध लड्न बाध्य पार्ने खेलको विकास गर्ने उद्देश्यले बोलिखेलाको रूपान्तरण गरेका थिए। हाल यसलाई जब्बारको बोलिखेला भनेर चिनिन्छ।[80][81] सन् १९७२ मा कबड्डी बङ्गलादेशको राष्ट्रिय खेल बनेको थियो तर त्यससमय यस खेलमा कुनैपनि विशिष्ट नियमहरू बनाइएको थिएन। बङ्गलादेश कबड्डी महासङ्घको स्थापना सन् १९७३ मा भएको थियो।[82]
डुङ्गा दौड एक बङ्गाली नौसैनिक दौड प्रतियोगिता हो जुन वर्षायाममा खेलिने गरिन्छ। यस बाहेक बङ्गालका विभिन्न क्षेत्रहरूमा विभिन्न प्रकारका खेलहरू पनि खेलिन्छन्। घोडा दौडलाई विशेष गरी नाटोरका दिघापातिया राजाहरूले संरक्षण दिएका थिए र उनीहरूको चलन अनुसार घोडा दौड शताब्दियौँदेखि हरेक वर्ष आयोजना हुँदै आएको छ।
कलकत्ताका मोहम्मद सलिम सन् १९३६ मा युरोपेली फुटबल क्लबका लागि पहिलो दक्षिण एसियाली खेलाडी बनेका थिए। स्कटल्यान्डमा सेल्टिक फुटबल क्लब लागि आफ्नो दुई उपस्थितिमा उनले सम्पूर्ण खेलहरू खाली खुट्टा खेल्दै थुप्रै गोल गरेका थिए।[91] एस्टन भिल्लाका रक्षापङ्क्तिका खेलाडी नेइल टेलर र लेस्टर सिटीका मध्यपङ्क्तिका खेलाडी हम्जा चौधुरी प्रिमियर लिग खेल्ने बङ्गाली मूलका पहिला खेलाडीहरू हुन्।[92] चौधुरीले इङ्ल्यान्डको २१ वर्ष मुनिको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् र उनी इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुने अनुमान गरिएको छ।[93]
बङ्गालीहरू बोर्ड तथा घरेलु खेलहरू जस्तै लुडो, घुर्रा, क्यारम बोर्ड, चोर-पुलिस, कनामाछी र शतरन्जको सन्दर्भमा निकै प्रतिस्पर्धी देखिन्छन्। रानी हमिद विश्वको सबैभन्दा सफल शतरन्ज खेलाडीमध्ये एक थिइन् जसले एसिया र युरोपमा धेरै पटक उपाधिहरू जितेकी थिइन्। रामनाथ विश्वास एक क्रान्तिकारी सिपाही थिए जसले १९औँ शताब्दीमा तीन पटक विश्व-यात्रा गरेका थिए।
क्रम | नाम |
---|---|
प्रथम | बङ्गबन्धु शेख मुजिबुर रहमान |
द्वितीय | विश्वकवि रवीन्द्रनाथ ठाकुुर |
तृतीय | काजी नजरुल इसलाम |
चौँथो | एके फजलुल हक |
पाँचौँ | नेताजी सुभाषचन्द्र बोस |
छैटौँ | बेगम रोकेया |
सातौँ | जगदीश चन्द्र बोस |
आठौँ | ईश्वरचन्द्र विद्यासागर |
नवौँ | माओलाना आबदुल हासिम खान भासानी |
दशौँ | राजा राममोहन राय |
एघारौँ | तितुमीर |
बाह्रौँ | लालन |
तेह्रौँ | सत्यजित राय |
चौधौँ | अमर्त्य सेन |
पन्ध्रौँ | भाषा सहिदहरू |
सोह्रौँ | मुहम्मद शहीदुल्लाह |
सत्रौँ | स्वामी विवेकानन्द |
अठारौँ | अतीश दीपङ्कर |
उन्नाइसौँ | जियाउर रहमान |
बीसौँ | होसेन सहिद सोहरावार्दी |
समुद्र सेन र चन्द्र सेन (महाभारत)
क्रम | नाम | पदवी | क्षेत्र | सङ्ख्या | मृत्यु मिति |
---|---|---|---|---|---|
०१ | महिउद्दिन जाहाङ्गीर | कप्तान | बङ्गलादेशी सेना | ०१ | १४ डिसेम्बर १९७१ |
०२ | हामिदुर रहमान | सिपाही | बङ्गलादेशी सेना | ०२ | २८ अक्टोबर १९७१ |
०३ | मोस्तफा कामाल | सिपाही | बङ्गलादेशी सेना | ०३ | १८ अप्रिल १९७१ |
०४ | मोहाम्मद रुहुल आमिन | बङ्गलादेशी नौसेना | ०४ | १० डिसेम्बर १९७१ | |
०५ | मतिउर रहमान | उडान उपसेनानी | बङ्गलादेश विमान सेना | ०५ | २० अगस्ट १९७१ |
०६ | मुन्सी अब्दुर रउफ | लान्स नायक | सीमा रक्षक | ०६ | ८ अप्रिल १९७१ |
०७. | नूर मोहम्मद शेख | लान्स नायक | सीमा रक्षक | ०७ | ५ सेप्टेम्बर १९७१ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.