मकवानपुर जिल्ला
From Wikipedia, the free encyclopedia
मकवानपुर जिल्ला नेपालको बागमती प्रदेशमा पर्ने एक जिल्ला हो।[2] यो जिल्लाले पूर्वमा रहेको झापादेखि पश्चिममा रहेको कञ्चनपुरलाई राजधानी काठमाडौँसँग जोड्ने गर्दछ। यो जिल्लाको उत्तरतर्फ रहेको करिब ६६ किलोमिटर लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करिब ९२ किलोमिटर लामो चुरे पर्वतद्वारा घेरिएको छ।[3] राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौँ र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौँडाबाट फाखेल-हुमाने भन्ज्याङ-फर्पिङ हुँदै छोटो समयमै काठमाडौँ पुग्ने वैकल्पिक मार्गको पनि निर्माण भएको छ।[4] यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुर गढी[5], सामारिक दृष्टिले महत्त्वपूर्ण स्थान चिसापानी गढी[6], पर्यटकीय स्थल शहीद स्मारक, लाली गुराँस र सुनगाभाका प्राकृतिक सङ्ग्रहालयहरूले यस जिल्लाको सौर्न्दय अझ बढाएको छ। यस जिल्लामा नेपालकै एकमात्र मानव निर्मित ताल इन्द्र सरोवर वा कुलेखानीको नामले चिनिन्छ। यस तालको पानीबाट कुलेखानी प्रथम कुलेखानी द्वितीय र कुलेखानी तृतीयमा विद्युत उत्पादन गरिन्छ।[7]
मकवानपुर जिल्ला | |
---|---|
राष्ट्र | नेपाल |
प्रदेश | बागमती प्रदेश |
प्रशासनिक सदरमुकाम | हेटौँडा |
क्षेत्रफल | |
• जम्मा | २,४२६ किमी२ (९३७ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११)[1] | |
• जम्मा | ४२०४७७ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
प्रमुख भाषा(हरू) | नेपाली |
वेबसाइट | www.ddcmakwanpur.gov.np |