भीमसेन थापा
नेपालको पहिलो आधिकारिक प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन्। राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो। सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारत को वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए।[2][3][4][5][6] यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे। सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने।
श्री मुख्तियार जर्नेल भीमसेन थापा | |
---|---|
नेपालको मुख्तियार | |
कार्यकाल १८०६–१८३७ | |
एकाधिपति | गीर्वाणयुद्ध विक्रम शाह राजेन्द्र विक्रम शाह |
पूर्वाधिकारी | रणबहादुर शाह मुख्तियारको रूपमा |
उतराधिकारी | रणजङ्ग पाण्डे |
व्यक्तिगत विवरण | |
जन्म | (१७७५-०८-००)अगस्ट १७७५ बोर्लाङको पीपल थोक गाउँ, गोरखा जिल्ला, नेपाल |
मृत्यु | ५ अगस्ट १८३९(1839-08-05) (उमेर ६४) भीम मुक्तेश्वर, काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
नाता | महारानी ललित त्रिपुरा सुन्दरी (भतिजी), प्र.म. माथवरसिंह थापा (भतिजा), जङ्गबहादुर राणा (नाति) |
सन्तान(हरू) | ललिता देवी पाण्डे, जनक कुमारी पाण्डे, र दीर्घ कुमारी पाण्डे[1] |
अभिभावकs |
|
पुरस्कार | राष्ट्रिय विभूति |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
शाखा/सेवा | नेपाली सेना |
श्रेणी | नेपालका प्रधान सेनापतिहरू |
आदेशहरू | नेपालका सेनापति |
लडाई/युद्धहरू | नेपाल अङ्ग्रेज युद्ध |
भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो। यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो। तर, सन् १८१४-१८१६ को नेपाललाई विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा उनले फसाए, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो। यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिस रेसिडेन्सीको स्थायित्व कायम भएको थियो।
सन् १८१६ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती) तथा केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहेका थिए।
सन् १८३२ मा उनको ठुलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्य तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो। मुख्यतया पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको सन् १८०४ मा भएको हत्याको योजनाकार मान्दथे। अनेक षड्यन्त्र र विरोधी दरबारियाहरूको गतिविधिका कारण अन्तत: भीमसेन थापा सन् १८३९ मा जेल हालिए र उनले त्यहिँ आत्महत्या गरे। तर, उनको मृत्यु पश्चात पनि आन्तरिक कलह शान्त भएन र सोको फलस्वरूप राणा शासनकालको उदय भयो।
भीमसेन थापालाई लिएर लामो अध्ययन गरेका इतिहासकार त्रिरत्न मानन्धरको निचोड छ, 'भीमसेन थापाले आफू शक्तिशाली हुन् एकपछि अर्को षड्यन्त्र गरे। षड्यन्त्रकै कारण उनी माथिसम्म पुग्न सफल रहे।' त्यसैमा बाबुराम आचार्यले लेखेका छन्, 'यस्ता अमानवीय काम काम गरेर वास्तवमा यिनले आफ्नो पतनको निमित्त खाडल आफैले उसैबेला नै खनिसकेको देखिन्छ।' थापाले शक्तिमा हुँदा धेरै महत्त्वपूर्ण व्यक्ति र तिनको परिवारलाई त्यस्तै निर्दयी मृत्यु दिएका थिए, जुन नियति पछि आफै भोगे।[7] 'भीमसेन थापाको षड्यन्त्र कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रले लेखेका छन्।[8] त्यसपछि भीमसेन थापा मुख्तियार बने।उनीहरूकै भाषामा, 'यो हत्याकाण्ड नेपालको इतिहासमा राजनीतिक परिवर्तनको घटना थियो। अब राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो। राजपरिवारको भूमिका न्यून हुँदै गयो। नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्यो। यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए।[9]