घोराही उपमहानगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
घोराही (पूर्व नाम: त्रिभुवननगर) नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको सदरमुकाम[4] तथा एक उपमहानगरपालिका हो।[5] यो उपमहनगरपालिका दाङ उपत्यकाभित्र पर्दछ।[6] लमहीबाट फेडर रोडले जोडिएको यो क्षेत्र पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। सदरमुकाम भएको कारणले यो उपमहानगरपालिका दाङ जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। भित्री तराई क्षेत्रमा अवस्थित, यो नेपालको राजधानी काठमाडौँबाट ४१३ किलोमिटर (२५७ माइल) दक्षिण-पश्चिममा अवस्थित छ। यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो र नेपालको ७औँ ठूलो सहर हो।[3] यो सहर दक्षिणमा शिवालिक पहाड र उत्तरमा महाभारत शृङ्खलाले घेरिएको छ।[7] यो सहर यसको परिदृश्य र आफ्नो हावापानीका लागि परिचित त छ नै यो सहर रोल्पा, प्युठान, सल्यान र रुकुम वरपरका क्षेत्रहरूको प्रवेशद्वारको सुविधा प्रदान गर्दछ। यो सहर पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तर-पश्चिममा सुर्खेत, थवाङ, रारा ताल, स्वर्गद्वारीको हिन्दु पवित्र भूमि र पाण्डवेश्वर र अम्बिकेश्वरी मन्दिर जस्ता पर्यटकीय गन्तव्यहरूसँग राम्रोसँग जोडिएको र नजिक छ। घोराही उच्च गुणस्तरको मह र अल्लो कपडाको लागि परिचित छ।[8]
घोराही
त्रिभुवननगर | |
---|---|
आदर्श वाक्य: हरित नगर घोराही सहर | |
निर्देशाङ्क: २८°२′उ॰ ८२°२९′पू॰ | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | दाङ जिल्ला |
नगर पञ्चायत | वि.सं. २०३५ माघ १५[1] |
समावेश गाउँ पञ्चायत | घोराही र सेवार वनगाउँ (पूर्ण) तथा हरिद्वार र रावतगाउँ (धेरैजसो) |
उपमहानगरपालिका | वि.सं. २०७३ फागुन २७[2] |
सम्मिलित क्षेत्रहरू | रामपुर, लक्ष्मीपुर, धर्ना, सौडियार, त्रिपुर र सैघा |
सरकार | |
• नगरप्रमुख | नरुलाल चौधरी (नेकपा एमाले) |
• उप मेयर | हुमा कुमारी डिसी (नेकपा एमाले) |
क्षेत्रफल | |
• जम्मा | ५२२.२१ किमी२ (२०१.६३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २००५३०[3] |
• क्रम | ७औँ (नेपाल) पहिलो (लुम्बिनी प्रदेश) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | २२४०० |
क्षेत्रीय सङ्केत | ०८२ |
वेबसाइट | ghorahimun |
नेपालको नगर पञ्चायत ऐन, २०१९ बमोजिम तत्कालीन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन घोराही र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग मिलाएर सो समयमा 'त्रिभुवननगर नगर पञ्चायत' बनाएको थियो।[1] यो नगर दाङ जिल्लाकै पहिलो नगरपालिका समेत हो। नेपालमा लोकतन्त्र स्थापनापछि वि.सं. २०६५ कात्तिक २० गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको पुरानो नाम त्रिभुवननगरलाई परिवर्तन गरेर घोराही राखिएको थियो।[9][10]
वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार घोराहीलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्दा साविकका रामपुर, लक्ष्मीपुर, धर्ना, सौडियार र सैघा गाउँ विकास समितिहरू तथा त्रिपुर नगरपालिकालाई यसमा गाभिएको थियो।[11][12]
नेपाल अधिराज्यको तत्कालीन राजा महेन्द्र शाहले आफ्नो पिता त्रिभुवन शाहको नाममा यो नगर क्षेत्रको नाम त्रिभुवननगर राखेका थिए।[1] देशमा आएको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनापछि यसको नाम परिवर्तन गरेर घोराही राखिएको हो। 'घोडा' शब्दबाट अपभ्रंश भएर 'घोराही' भएको जनश्रुतिको आधारमा यसको नाम घोराही राखिएको हो।[10]
नेपाल अधिराज्यको मानचित्रमा लुम्बिनी प्रदेशअन्तर्गत तत्कालीन त्रिभुवननगर नगर पञ्चायतको वि.सं. २०३५ साल माघ १५ गते नगर पञ्चायतको रूपमा घोषणा भएको हो। तत्कालीन घोराही र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू-भाग तथा हरिद्वार र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू-भाग समेटेर कुल ११ वटा वडा निर्धारण गरी यसलाई नगर पञ्चायत घोषणा गरिएको थियो। पञ्चायती व्यवस्था कालमा नगर पञ्चायत, प्रजातन्त्रको पुनर्बहाली पश्चात् नगरपालिका र गणतन्त्र स्थापनापछि उपमहानगरपालिका बनेको यो नगरलाई उक्त कालखण्डमा विभिन्न व्यक्तिद्वारा नेतृत्व प्रदान गरिएको थियो। त्रिभुवननगर नगर पञ्चायतका प्रथम प्रधानपञ्च गजराज शर्मा[13] थिए भने उपप्रधानपञ्चमा अशोक चौधरी थिए।[14] दोस्रो स्थानीय तह निर्वाचनमा समेत गजराज शर्मा प्रधानपञ्च भएका थिए भने रामशरण थापा उपप्रधानपञ्च भएका थिए।[13] त्यसपछि यज्ञबहादुर बुढाथोकी प्रधानपञ्च निर्वाचित भएका थिए भने तोरणध्वज श्रेष्ठ उपप्रधानपञ्च भएका थिए।[15] मुलुकमा प्रजातन्त्र पुर्नस्थापना भएपछि पुन: वि.सं. २०४९ सालमा यज्ञबहादुर बुढाथोकी र अर्जुनकुमार श्रेष्ठले नगर प्रमुख र उपप्रमुखको नेतृत्व सम्हालेका थिए। त्यसपछि वि.सं. २०५४ सालमा भएको निर्वाचनमा अमर डाँगी र दामोदर अधिकारी प्रमुख र उपप्रमुख पदमा विजयी भएका थिए।[16] शाही शासनकालमा राजाद्वारा बलि रानालाई नगर प्रमुख र गणेशप्रसाद श्रेष्ठलाई उपप्रमुख मनोनीत गरिएको थियो।
देशमा सङ्घीयता लागू भएपछि सम्पन्न वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस उपमहनगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टीका नरुलाल चौधरी र उप नगरप्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टीकी सिता सिग्देल न्यौपाने विजयी भएका थिए भने[17][18]वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार उपमहनगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिस्ट पार्टीका नरुलाल चौधरी र उप नगरप्रमुख पदमा सोही दलकी हुमा कुमारी डिसी विजयी भएका थिए।[19][20]
आर्थिक वर्ष वि.सं. २०७२-७३ मा स्थानीय सरकार र आयोगका वित्तीय विज्ञहरूले गरेको मूल्याङ्कनमा न्यूनतम अवस्था र कार्यसम्पादन मापनका आधारमा यो उत्कृष्ट उपमहानगरपालिका मध्येको एक हो।[21] आर्थिक वर्ष वि.सं. २०६७-६८ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय निकायले गरेको वित्तीय आयोगको मूल्याङ्कनमा पनि यो नगर पहिलो हुन सफल भएको थियो।[22]
यस उपमहानगरपालिकाभित्र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेद कलेज, राप्ती इन्जिनियरिङ कलेज, दीपज्योति नर्सिङ कलेज, र महेन्द्र बहुमुखी कलेज जस्ता प्रशिक्षण संस्थाहरू सञ्चालनमा रहेको छ।[23]
नेपालको वि.सं. २०७८ को जनगणना अनुसार घोराहीको जनसङ्ख्या २,००,५३० रहेको छ भने कुल ४९,७६१ घरधुरी रहेका छन्। यस नगरमा मुख्यतया क्षेत्री र थारु रहेका छन्।[10] यसका साथै यहाँ नेवार, मगर, विश्वकर्मा, राई, लिम्बू लगायतका जातजाती बसोबास गर्छन्।
घोराही नगरमा स्थानीय यातायात बस वा निजी सवारी साधनबाट चल्ने गरेको छ। बसहरू सहरको केन्द्र वरपरको गोलाकार सडकमा बारम्बार गुड्छन्। घोराही र यसका प्रमुख उपनगरहरू जसमा तुलसीपुर, लमही, धरना, नारायणपुर र सौडियार समावेश छन्।[24] नेपालका अन्य विकासशील सहरहरू जस्तै घोराही पनि वरपरका नयाँ बासस्थानका साथ विस्तार हुँदै गएको छ। यी क्षेत्रहरूमा यातायात सेवा पनि द्रुत रूपमा विस्तार भइरहेको छ। पर्यटक ट्याक्सीहरू पनि सहर बाहिर यात्राको लागि एक विकल्प हो।[25] स्थानीयहरू सामान्यतया पैदल हिड्ने गर्छन्। नेपालका अन्य सहरमा जस्तै अटो रिक्सा पनि यहाँ सामान्य रहेको छ।[26]
घोराही नेपालका सबै प्रमुख सहरहरूसँग सडक सञ्जालले राम्रोसँग जोडिएको छ। पूर्वपश्चिम राजमार्ग लमहीबाट घोराहीसम्मको कालोपत्रे सडकबाट जोडिएको छ। राप्ती सर्वजनिक यातायात, शिकारी यातायात, अम्विकेश्वरी यातायात र अन्य निजी बस एजेन्सीहरूले उपत्यका र राप्ती क्षेत्र वरपर व्यापक यातायात प्रदान गर्दछ। सहरमा हालसम्म सरकारी सवारी साधन उपलब्ध छैन।[27][28]
दाङ विमानस्थल सहरबाट २३ किलोमिटर (१४ माइल) टाढा टारिगाउँमा अवस्थित छ। विमानस्थलबाट काठमाडौँको लागि विरलै उडान हुने गरेको छ।[29] यसको सबैभन्दा निकटतम प्रमुख विमानस्थल बाँके जिल्लाको नेपालगञ्ज विमानस्थल हो, जुन यो सहरबाट लगभग १५२ किलोमिटर (९४ माइल) टाढा छ। सरकारले सन् २०१० मा अन्तर्राष्ट्रियस्तरको नयाँ विमानस्थल निर्माणको प्रस्ताव गरे पनि राजनीतिक अस्थिरताका कारण सो काज रोकिएको छ।[30]
प्रसिद्ध तीर्थस्थल स्वर्गद्धारी जाने आउने श्रद्धालुहरूको यातायात तथा वासस्थानको मुख्यकेन्द्र पनि घोराही नै रहेको छ।[31] यस उपमहानगरपालिकाभित्र गोरक्ष रत्ननाथ मन्दिर[32][33], अम्विकेश्वरी भगवती मन्दिर[34], बाह्रकुने दह[35], गणेश मन्दिर र सिरडी साइ मन्दिर रहेका छन्। त्यसैगरी नगरको मुटुमै रहेको साविक त्रिभुवन पार्क हाल लखन थापा पार्क[36] तथा अम्विकेश्वरी पार्क प्राकृतिक सुन्दरता अन्तर्गत पर्छन्।[37]
यो उपमहानगरपालिकाको मुख्य विशेषता भनेको एसियाको सबैभन्दा ठूलो उपत्यका दाङ उपत्यका भित्र रहनु हो।[38] यस उपमहानगरपालिकाको कुल क्षेत्रफल ५२२ दशमलव २१ वर्ग किलोमिटर रहेको छ। यस उपमहानगरपालिकाको व्यस्त घोराही बजारलाई रूकुम, रोल्पा, सल्यान र प्युठान जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिन्छ।[39]
नेपाली झ्याउरे थारु संस्कृतिमा आधारित बडका नाच, कौडा नृत्य, टप्पा नाच, लाखे नाच[40], देउसी भैली र धार्मिक कार्यमा गाइने भजन कीर्तन उपमहानगरपालिकाका प्रमुख कला संस्कृति मानिन्छन्।[41][42]
यस उपमहानगरपालिका भित्र हिन्दुहरूले मनाउने प्रमुख चाड पर्वमा दशैं, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, जनैपूर्णिमा र हरितालिका हुन् भने बुद्ध पूर्णिमा बौद्ध धर्म मान्नेहरूको प्रमुख पर्व हो। त्यस्तै मुस्लिम धर्म मान्नेहरूले इद्, बकरी ईद जस्ता चाड मनाउने गरेको पाइन्छ।[43]
दालभात सहरका अधिकांश मानिसहरू माझ लोकप्रिय खाना हो। यस बाहेक मम:, चाउमिन, समोसा र चाट सहरका युवा पुस्तामाझ प्रख्यात छन्। यहाँका स्थानीय होटलहरू थारु परिकारहरू पाइन्छ।[44]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.